logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Wednesday, October 28, 2020 )

जलस्रोत ‍: सम्भावनै सम्भावना तर भगिरथ प्रयासको खाँचो

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार

जीवनका लागि जल अनिवार्य तत्व हो । त्यसैले त भनिन्छ ‘जल नै जीवन हो’ । जलसम्पदाबिना मानव सभ्यताको कल्पना पनि गर्न सकिँदैन । यति महत्वपूर्ण जलसम्पदाका क्षेत्रमा नेपाल ज्यादै धनी छ । धन त्यसलाई भनिन्छ, जसको उपयोगले जीवन सहज बनाउँछ ।
त्यसो हो भने के नेपालको जलसम्पदा हाम्रा लागि धन बन्नसकेको छ त ? त्यसबाट हामीले जीवनलाई सहज बनाउन सकेका छौँ त ? खोलामा पानी बगिरहेको हुन्छ तर त्यसको माथि डाँडामा बसेकाहरुले पानीका लागि हण्डर खपिरहनु परेका हजारौँ गाउँ छन् नेपालमा ।
बर्सेनि खेत, बारी, पाखा बगिरहन्छन् तर खेती गर्न पानीको चाँजो मिलाउन नसक्दा अधिकांश नेपालीले ‘गरीब’ को विशेषण भिर्नु परिरहेको छ । पानीबाट बिजुली निकालेको एक सय वर्ष नघिसक्यो नेपालमा । आज पनि कतिपय गाउँमा टुकी, झारो बल्न छाडेका छैनन् ।
वर्षैभरि पानी बग्ने हाम्रा नदी एवं खोला साहसी पर्यटकका लागि लोभलाग्दा ‘सिकार’ हुन् । बर्सेनि धेरै पर्यटक पानीमा खेल्न आउने गरेका पनि छन् । यस क्रमलाई बढाएर, नयाँ नयाँ विधि अपनाएर थप पर्यटक तान्न सकिन्छ । विदेशी मुद्रा जति बढी आउँछ, मुलुक त्यति नै समृद्ध हुन्छ । आन्तरिक पर्यटनमा पनि यस्ता पूर्वाधारले मनग्गे ठाउँ ओगट्छन् ।
आजका दिनसम्म आइपुग्दा हामी (नेपाली) ले मनन गर्नै पर्ने भएको छ– के हामीले ‘हुनु’ को सार्थकता पुष्टि गर्न सक्यौँ ? हामी त्यसका लागि संवेदनशील छौँ ? हाम्रो इमानले बाटो बिराएको त छैन ? हामी ‘हाम्रा लागि’ सोचिरहेका छौँ ? ‘मेरा लागि’ मात्र सोच्ने हो त हाम्रो जीवन–सार ?
जलसम्पदामा धनी हाम्रो मुलुकमा त्यसको उपयोगका लागि प्रयासहरु नभएका होइनन् । नीति, योजना, कार्यक्रम नबनेका होइनन् । तिनलाई सहज गर्न कानुन पनि बनेकै हुन् । बनिरहेकै छन् । अझै पनि बन्ने छन् ।
पूर्वीय आचार्य चाणक्यको मत छ– व्यक्ति स्वयंले हार नमानेसम्म उसको हार हुनैसक्तैन । प्रत्येक हार उसको विजयको बाटोमा पर्ने बिसौँनी हुन्छन् । हारबाट उसले आफ्नो कमजोरी पत्तालगाएर त्यसलाई सुधार्छ र फेरि प्रयास गर्छ ।
यस पृष्ठभूमिमा नेपालको जलसम्पदालाई आधार बनाएर हामीले आफैँ प्रश्न गरेर त्यसको जवाफ पनि आफैँले दिनुपरेको छ–
– ‘जलस्रोतका क्षेत्रमा हामी धनी छौँ’ । के यथार्थमा भयौँ त ?
– जलस्रोतको उपयोगका क्षेत्रमा हामीले बनाएका नीति, योजना के यथार्थपरक थिए वा छन् ?
– नेपालको जलस्रोत उपयोग÷उपभोग वा दोहनका लागि बनेका नियम, कानुन निर्माणमा निश्चय नै ‘स्वच्छमन’ को प्रयोग भए ?
– यी आवश्यकता परिपूर्तिका लागि के कस्ता नीति रहेका छन् र आगामी दिनमा ती नीति कस्ता हुनुपर्छ ?

यी विषयमा नियमित छलफल हुनु ज्यादै जरुरी छ । नियमितरूपमा हुने छलफल, अन्तरक्रियामार्फत नीतिनिर्माण तहसम्म यी कुराको वकालत पैरवी गर्नु वाञ्छनीय छ ।
समुद्रसम्मको सोझो पहुँच नहुनु हाम्रा लागि केही खट्किने कुरा निश्चय नै हो । त्यसो भन्दैमा हातबाँधेर बस्ने कुरा पनि त आउँदैन । समस्यासँगै समाधान हुन्छन् । समाधान गर्नै नसकिने समस्या भए अर्को विकल्प रोज्न कसले पो छेक्छ र ? हण्डर नखाई हुर्केको ज्यानले सानोतिनो दुःख पनि खप्न सक्दैन । त्यसैले समस्यालाई जीवन भोग्ने कला सिकाउने गुरुको रुपमा लिएर अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ ।
प्रकृतिले हामीलाई प्रचूर जलस्रोत दिएको छ । मुलुक सङ्घीयतामा गएसँगै प्राकृतिक सम्पदाको उपयोग कसरी गर्ने भन्ने कुराको निर्णयमा स्थानीय निकायको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैगरी प्रदेश र सङ्घ (केन्द्र) को पनि भूमिका निर्धारण गरिएको छ ।
स्थानीय निकायले सम्भावना रहेका स्रोत परिचालन गरेर खानेपानीको व्यवस्था गर्न सक्ने भएका छन् । सि‌‌चाइको प्रबन्ध गरेर कृषि उत्पादन बढाउन सक्छन् । केन्द्रीय प्रसारण सेवा नपुगेका ठाउँमा पानी, हावा वा सूर्यबाट सम्भव हुने उर्जा उत्पादन गरेर अब पनि टुकी वा झारो बाल्नुपर्ने अवस्था अन्त्य गर्न सक्छन् । यसलाई सङ्घीयताको सुन्दरताका रुपमा पनि लिने गरिएको छ ।
जलस्रोत डट कम अनलाइन पत्रिका यी र यस्ता समस्याको निराकरणको प्रयासमा जुट्ने उद्देश्यले सञ्चालन गरिएको हो । यसको सम्बन्ध धेरै वर्ष अधिदेखि प्रकाशनमा रहेको जलस्रोत नामक द्वैमासिक पत्रिकासँग पनि रहेको छ ।
हामी हाम्रो उपस्थितिबाट–
– आम नागरिकले जलस्रोतका क्षेत्रसँग सम्बन्धित नीति र योजनाहरूको प्रभावकारिताबारे सजिलो गरी जानकारी पाउनसक्नेछन् भन्नेमा दृढ रहने छौँ ।
– जलस्रोत क्षेत्रको अवस्थाबारे जानकारी आदान प्रदान भई बुझाइमा एकरूपता भई स्थिति वा अवस्थाको ज्ञानबाट सरकारकाका साथै निजीक्षेत्रलाई समेत काम गर्न सहजता प्राप्त हुनेछ ।
– नीति अनुरूप काम नहुनुका कारणहरूको खोजी गरी तिनको निराकरणका उपाय अवलम्बन गरिएको हुनेछ ।
– नीतिमा हुने विषयगत त्रुटिहरू पहिचान गरी आगामी दिनमा बन्ने नीति तथा योजनाहरूमा ती कुराहरूको सम्बोधन गरी कार्यान्वयमा सहजता प्रदान भएको हुनेछ ।
– ‘जलस्रोतमा सबैको सरोकार र पहुँच’ भन्ने विषयमा सचेतना अभिवृद्धि भएको हुनेछ ।
माथि भनिएका काम गर्नका लागि हामी विषयगत क्षेत्रका विज्ञहरूसँग छलफल र परामर्श गर्ने छाैँ । तिनै छलफल, परामर्श योजनाका आधारमा जलस्रोतका क्षेत्रमा के कस्ता काम हुनु-गरिनु आवश्यक छ भन्ने स्थितिबोध हुनेछ । ती काम गर्न कुन कुन क्षेत्रले के कस्ता योजना बनाई कार्यान्वयनका लागि कुन कुन निकायमा पेश गर्ने भन्ने कुराको तय गरिने छ ।
यो कार्यक्रम कार्यान्वयनका लागि जलस्रोत द्वैमासिक र जलस्रोत डटकमले अन्तरक्रियात्मक स्वरूपका गोष्ठी एवं छलफल कार्यक्रम सञ्चालन गर्ने छ । विज्ञ टोलीले मार्गनिर्देशन गरेका सम्भावनाहरूको अध्ययन र ती चिजवस्तु प्राप्तिका लागि गर्नु पर्ने काम गर्ने छ । यस्ता कार्यक्रम विज्ञ र सरोकारवाला निकायबीचमा गरिने छ ।
हाम्रा नदीनालामा बग्ने पानीको उच्चतम सदुपयोग नै हाम्रो एकमात्र ध्येय हो । हामी यसकै लागि निरन्तर जुटिरहने छौँ । उच्च हिमश्रृङ्खलाबाट बाह्रैमास बगिरहने पानीलाई समुन्द्रमा पुग्नुभन्दा अगाडि धेरैथरी काममा उपयोग गर्न सकियोस् भन्ने हाम्रो मूल उद्देश्य हो । यसमा हामीसँग समान विचार राख्ने सबैसँग सहकार्य गर्न सदा तत्पर रहने छौँ । मुलुक र मुलुकवासीको समृद्धिका लागि हामी सदा जुटिरहने छाैँ । हाम्रो यस अकिञ्चन प्रयासलाई उचित ठान्नुहुने सबैमा हार्दिकतापूर्वक स्वागतम् ।

Facebook Comments

Advertisement
Top