logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Tuesday, October 20, 2020 )

अपर तामाकोशी अझैं अनिश्चित

मन्त्री वर्षमान र एमडी कुलमानले डोकोमा विजुली बेच्ने

प्रकाशित मिति : १४ असार २०७७, आईतवार

काठमाडौं । विद्युत उत्पादन गरेपछि पावर हाउसबाट प्रशारण लाइनमार्फत विभिन्न सव स्टेशनहरु हुँदै दूर दराजसम्म विद्युतको सप्लाई गरिन्छ । तिनै प्रशारण लाइनको अवस्था के छ र विद्युत आयोजनाहरु जानजान किन ढिला गरिन्छ, भन्ने कुराको सानो अनुसन्धान गरिएको छ ।
बहुचर्चित र बहुप्रतिक्षित अपर तामाकोशीको सेरोफेरोबाट हेर्दा आँकलन गर्न सकिन्छ कि आयोजना समयमा सम्पन्न गर्न प्रशारण लाइनसँगको तालमेल मिलाउनका लागि जानाजान ढिला गर्न लाइन्छ वा गराइन्छ । धेरै कोणबाट अन्य आयोजनाहरुको कथा व्यथा यो कुरासँग मेला खान्छ । तामाकोशीको पावर हाउस बन्ने ठाउँ गोंगर हो । गोंरगबाट ४७ किलोमिटरको प्रशारण लाइनमार्फत रामेछापको खिम्ती सब स्टेशनसम्म उत्पादित विद्युत पुर्याउनु पर्ने हुन्छ । खिम्ती सब स्टेशनबाट उक्त विद्युत बाह्रबिसे लप्सीफेदी–चाँगुनारायण दुवाकोट तथा लप्सीफेदी–रातामाटे, हेटौडा–रातामाटे– बुटवलको एउटा भरपर्दो रुट हो ।
विद्युत सप्लाइका लागि त्यस्तै अर्को महत्वपूर्ण रुट भनेको खिम्तीबाट ढल्केबर र ढल्केबरबाट हेटौडा (पश्चिम तर्फ ) इनरुवा (पूर्वतर्फ) लैजाने प्रशारण लाइन हो । गोंगर खिम्ती ४७ किमिको २२० किमी प्रशारण लाइन तामाकोशी आयोजनाले आफ्नै खर्चमा निर्माण सम्पन्न गर्न लागेको छ । (तामाकोशी जविआ प्रमुख विज्ञान प्रसाद श्रेष्ठ भन्नुहुन्छ– ‘लाइनको काम सकिसकेको छ । टेस्टीङ गर्न मात्र बाँकी छ ।’ लामोसाँघु खिम्ती १३२ किभी प्रशारणमार्फत खिम्ती जलविद्युत आयोजनाको ६० मेगावाट, भोटेकोशीको ४५ मेगावाट र थुप्रै आइपीपी आयोजनाहरुको विद्युत खिम्ती सब स्टेशनमा आउछन् । त्यहाँबाट खिम्ती–लामोसाँघु–भक्तपुर प्रशारण लाइनबाट उपत्यकासम्म विजुली आउँछ । यो संरचनाले थप विद्युत धान्न सक्दैन ।
महत्वपूर्ण कुरा तामाकोशी (न्यू खिम्ती) काठमाडौं २००/४०० केभी १३२ केभी प्रशारण लाइन आयोजनाले काम गरिरहेको छ । यो योजनाले ठूलो महत्व राख्दछ । यो प्रोजेक्टको सन् २०१२ मा ऋण स्वीकृत भयो । २०१६ मा पहिलो पटक कन्ट्याक्ट भयो । जस अनुसार मे २६, २०१९ मा बाह्रबिसे–काठमाडौंको काम सम्पन्न गर्नु पर्ने शर्तमा । २०१८ मा कन्ट्याक तोडियो । चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी सेन्जेनले काम पाएको थियो । त्यसमा रि टेण्डर भयो । २० मे २०१९ मा भारतीय केइसी इन्टरनेशनलले दास्रो पटक कन्ट्याक पायो । अक्टोवर १२, २०२१ मा काम सकाउनु पर्छ । त्यो समयमा काम सकिन्छ ? एउटा नेपाली उखान छ ‘इन्द्रेका  बाउ चन्द्रे’ आए नि सकिन्न ।
के के काम बाँकी छ त ?
आयोजना प्रमुख नवराज ओझा–प्राविधिक दृष्टिले आयोजना समयमा सकाउन कुनै समस्या छैन । अप्राविधिक कामहरु धेरै छन् । जग्गा अधिग्रहण र वन क्षेत्रको कटान छपान बारे सरकारबाट ढिला निर्णय आयो । अब जग्गाको लागत स्टीमेन्ट तयार गर्ने, अधिग्रहण गर्ने र मुआब्जा वितरण गर्ने, छपान कटानका कामहरु अगाडि बढेका छन् । मुअब्जाको सन्दर्भमा सिन्धुपाल्चोक र काभ्रेमा पर्ने जग्गाको उचित मूल्य दिएका छौ । जसले पाउछन् ती खुसी हुन्छन नै । तर जस्को परेको छैन त्यहाँ समस्या हुन सक्छ ।
जहाँ नेर जुनसुकै आयोजनामा आइपर्ने राजनीतिक हस्तक्षेप जनताका माग, अवरोध र स्थानीय सरकारको इन्टेन्सनले भूमिका खेलेको हुन्छ । त्यसबाट यो आयोजना अछुतोमा नरहला । यसले समयको निर्धारण गर्छ ।
हो, यही प्रशारण लाइनबाट तामाकोशीको विजुली अन्यत्र लगेर बेच्नु पर्छ । यो काम भएको छैन । अर्को बाटो खिम्ती–ढल्केबर लगेर इनरुवा र हेटौडा तर्फ पुर्याउने अनि बाँकी विजुली भारत पठाउने सपना । सपनाको हकमा ठिक छ । तर ती प्रशारण लाइनहरु १३२ केभी र २२० केभीका छन् । ती संरचना सुधारमा आउने समस्या र काम गर्ने इच्छा शक्ति दुबैमा देखिएको दरिद्रताले कम्तिमा जानकारहरुलाई फिस्स हाँसो उठाउँछ । पूर्व पश्चिम प्रशारण लाइनको चर्चा पछि आउने छ ।
खिम्ती सब स्टेशन र काठमाडौंसम्मको प्रशारण लाइनलाई गहन अध्ययन गर्दा खिम्ती बाह्रबिसे ४४ किमी खण्ड बाह्रबिसे लप्सीफेदी ४६ किमी खण्ड ४०० केभी तथा लप्सीफेदी–चाँगुनारायण १० किमी खण्ड १३२/२२० केभी र चाँगुनारायण–दुवाकोट ४ किमी १३२ केभीको प्रशारण लाइन बनाउने योजना हो । खिम्ती सब स्टेशनमा तामाकोशी ४४६ मेगावाट, मध्य भोटेकोशी १०२ मेगावाट, बलेफी कोरिडोरबाट २८३ मेगावाट, चाँकु २५ मेगावाट तथा हाल भोटेकोशी ४५ मेगावाट, खिम्ती ६० मेगावाटसमेतको पावर आइ प्रशारण लाइनमार्फत बिभिन्न प्रणाली हुँदै ग्राहकसम्म पठाउनु पर्ने हुन्छ । यतिका पावर सप्लाई गर्ने मेरुदण्डको न्यू खिम्ती २००/४०० केभी आयोजना अपरिहार्य छ । अपर तामाकोशी विद्युत उत्पादनको दृष्टिले तयार भइसकेको छ । तर विद्युत सदुपयोग गर्ने दृष्टिमा तामाकोशी अझंै अनिश्चित छ भन्दा फरक पर्दैन ।
यहाँ नेर अर्को गम्भीर प्रश्न के छ भने विद्युत आयोजनाहरु किन ढिला हुन्छन् भन्नेमा प्रशारण लाइनसँगको तालसुर मिलाउन विद्युत प्राधिकरणले नै जानाजान ढिला गराएको हो भन्दा कोही नरिसाए हुन्छ । उत्पादन गरेर मात्र के गर्ने बेच्न सक्दैन नविप्राले । तर पिपिए अनुसार भुक्तानी भने दिनै पर्छ । ‘नेपालको पानी जनताको लगानी’ स्लोगन सुन्दर छ । तर ठूलो सपना देखाएर विद्युतको शेयर बेचेर जनताको पैसा बटुलेर राज्यले मोज गर्ने । तामाकोशीको विद्युत कहिले आउँछ र हाम्रो शेयर कहिले नाफामा जान्छ भनी तामाकोशीका एक शेयर खरिदकर्ता जीवनाथ रेग्मी भन्दै थिए । अर्का एक शेयर खरिदकर्ता पख्नुहोस् वर्षमान र कुलमानले विजुली डोकोमा बोकेर घरघर पुर्याउछन् । बेच्छन र शेयरको नाफा दिन्छन् । छेउमा बसेर सुनिरहेको यो सम्वाददाताले डोकोमा बोकेर विजुली बेच्ने कुराको अर्थ खोज्दा यो तथ्य देखिन आएको हो ।
विद्युत प्राधिकरणका बरिष्ठ कर्मचारीसँग भलाकुसारी गर्दा उहाँ भन्दै हुनुहुन्थ्यो कि ‘कुलमान सर यदि लोड सेडिङ हुने अवस्था देखिए हेलिकप्टर चढेर रातारात दौडनु हुन्छ । तर अन्य आधारभूत कुरामा उहाँ सम्वेदनशील हुनुहुन्न । मान्नुस उहाँ कुनै सेलीब्रेटी हो, जो स्क्रीनमा फोटाेफिटोमा देखिने र प्याच्च पुच्च बोल्ने ठाउँलाई भने छुटाउनु हुन्छ’
अहिले उत्पादित विद्युत र उत्पादनको संघारमा रहेका आयोजनाबाट आउने विद्युत भइरहेका प्रशारण लाइनसमेतका संरचनाले धान्दैन । संरचनाको पुनसंरचना र प्रशारण लाइन निर्माणको यो गतिविधि हेर्दा सरकारले आगामी वर्ष १३ सय मेगावाट नयाँ उत्पादन पाँच वर्ष र दश वर्षमा पन्ध्र हजार मेगावाटको फिस्स हाँस उठ्ने योजना अगाडि सारेर फोटोफिटो खिच्ने र प्याच्च पुच्च बोल्ने काम गरेको छ । सम्पूर्ण वस्तुस्थितिलाई आँकलन गर्दा उर्जा मन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डोकामा बोकेको विजुली भावी नेतृत्वलाई हस्तान्तरण गर्ने निश्चित छ ।
प्रशारण लाइनको रुग्ण अवस्थाले भोजपुर संखुवासभा र तेह्रथुम जिल्लाका निजी क्षेत्रले उत्पादन गरको २५ मेगावाट मध्ये ३ मेगावाटको मात्र उपयोग भएको छ । भने २२ मेगावाट खेर गएको छ । दोलखामा निर्माण सम्पन्न सिंगटीको २५ मेगावाट प्रशारण संरचनाको कारण टोक्नु र ओकल्नुको हुने स्थिति छ । यी प्रतिनिधि कुरा मात्र हुन । निर्माणाधिन र निर्माणउन्मुख र सम्पन्न हुने आयोजनाहरुको लाइन नै छ ।

subedi_warc@yahoo.com

Facebook Comments

Advertisement
Top