नेपाल विद्युत प्राधिकरण स्थापनाको ३५ औं वर्षगाठको अवसरमा मन्त्री वर्षमान पुन ‘अनन्त’ र सचिव दिनेश कुमार घिमिरेले दिनु भएकाे शुभकामना सन्देश

शुभकामना
सर्वप्रथम नेपाल विद्युत प्राधिकरण स्थापनाको ३५ औं वर्षगाठको अवसरमा प्राधिकरण र यस अन्तरगत कार्यरत सबै कर्मचारीहरुमा बधाई तथा शुभकामना दिन चाहन्छु । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षालाई कार्यरुप दिन विकासका अन्य आयामहरुको संवाहकको रुपमा रहेको ऊर्जा क्षेत्रको विकास लक्ष्यका साथ २०७५ वैशाख २५ मा जारी भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको श्वेत(पत्रमा उल्लेख भएका कार्यक्रमहरु समेत समावेश गरी प्राधिकरणले ५ वर्षे संस्थागत विकास योजना  २०७७ जारी गरेको छ । जसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणको आपसी कुशल समन्वयले विद्युत आपूर्ति बृद्धि गर्न एवम् स्वदेशमा उत्पादित विद्युतबाट आत्मनिर्भर बन्नेछ। यसले सबैका लागि स्वच्छ, भरपर्दो, नियमित र सुलभ ऊर्जा उपलब्ध गराउने दिगो विकास लक्ष्यको प्राप्तिमा पनि सहयोग पुग्नेछ । बढ्दो विद्युत खपत राष्ट्र र जनताको आर्थिक र वित्तीय सुधारको सूचक हो । केन्द्रीय विद्युत प्रणालीको विस्तार तथा वैकल्पिक ऊर्जाको माध्यमबाट आगामी २ वर्षमा हरेक नेपालीको घरघरमा विद्युतको पहुँच पुयाउने सरकारको लक्ष्य हासिल गर्न प्राधिकरणको जिम्मेवारी हो । मुलुकमा विद्युत अभावको कारण औद्योगिक तथा अन्य ग्राहकहरुलाई कष्टकर लोडसेडिङ्गको समस्या एवं अध्यारोमा बस्नुपर्ने जनताको वाध्यता र अर्थतन्त्रमा नकरात्मक असर परेको सबैलाई विदितै छ । वर्तमान सरकारको गठन सँगै २०७५ जेठ देखि औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य भईसकेकोले औद्योगिक विकासका लागि ऊर्जा संकट कम भई देशको अर्थतन्त्र सुधारमा थप सहयोग पुगेको छ । स्वदेशी विद्युतको उत्पादन बृद्धि, माग आपूर्ति व्यवस्थापन, प्राविधिक तथा व्यापारिक चुहावट न्यूनिकरण र प्रसारण तथा वितरण प्रणालीको सुधारको कारण हाल नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न सकिएको छ। निकट भविष्यमै सम्पन्न हुन गइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन तथा ढल्केबर सवस्टेशनको ४०० के.भि.मा स्तरोन्नती कार्य ऊर्जा क्षेत्रको कोशेढुङ्गाको रुपमा रहने छ। जसबाट ऊर्जा सुरक्षामा सुधार हुने र क्षेत्रीय विद्युत व्यापारमा बढावा मिल्ने छ ।
देशको संघीय शासन व्यवस्था अनकल प्राधिकरणको पनि प्रादेशिक कार्यालयहरुको स्थापनासँगै पुनर्संरचना शुरु भईसकेको छ । विद्युत नियमन आयोगको स्थापनाले खुला विद्युत बजारको लागि आवश्यक विद्युतको थोक मूल्य, खुद्रा मूल्य र प्रसारण शुल्क लगायतका विविध अन्य शुल्क स्वतन्त्र ऊर्जा क्षेत्रको नियामकको हिसावले तोक्ने मार्ग प्रशस्त गरेको छ। यो नै ऊर्जा क्षेत्रको पुनर्संरचनाको लागि आवश्यक पूर्व शर्तहरु हुनस जसले ऊर्जा क्षेत्रको समग्र कार्यक्षमता अभिबृद्धि गर्नेछ । विद्युत महशुल दरमा बृद्धि बिना चुस्त र सुदृढ व्यवस्थापन एवम् कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण आफ्नो इतिहासमा सबैभन्दा बढी संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणले आफ्नो इतिहासमा पहिलो पटक ग्राहस्थवर्गको ग्राहकहरुको लागि विद्युत महशुल घटाएको र मासिक १० युनिट भन्दा कम विद्युत खपत गर्ने विपन्न वर्गका करिब ८ लाख ग्राहकहरुलाई पूर्ण रुपमा विद्युत महशुल छुट दिन शुरुवात गरी प्राधिकरणले नाफामुखी मात्र नभएर सेवामुखी संस्थानको रुपमा आफुलाई प्रमाणित गरेकोमा विशेष गौरव महशुस गरेको छु। अन्त्यमा, प्राधिकरणको वित्तीय अवस्थामा सुधार आएको वर्तमान अवस्थाले प्राधिकरणलाई कुशल सार्वजनिक संस्थानको रुपमा रुपान्तरण हुन प्रेरणा मिल्ने विश्वास लिदै कोभिड( १९ को जोखिममा पनि कर्तव्यनिष्ठ भई देश र जनताको सेवामा समर्पित सबै कर्मचारीहरुमा धन्यवाद र आभार सहित प्राधिकरणको आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
उर्जा सचिव दिनेश कुमार घिमिरेले नेपाल विद्युत प्राधिकरणले स्थापनाको ३५औं वार्षिक उत्सवमा दिनुभएको शुभकामना सन्देश

                                                                    शुभकामना
नेपाल विद्युत प्राधिकरणले स्थापनाको ३५औं वर्ष सफलतापूर्वक पुरा गरेको उपलक्ष्यमा म नेपाल विद्युत प्राधिकरणमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई हार्दिक बधाई दिन चाहन्छु । आधुनिक जिवनयापनको आत्यावश्यक साधनको रुपमा रहेको भरपर्दो र गुणस्तरीय विद्युत सेवा र नियमित
आपूर्ति गर्न प्राधिकरण सफल भएकोमा मलाई खुशी लागेको छ। केन्द्रीय प्रणाली तथा वैकल्पिक ऊर्जाको माध्यमबाट ८६.४५ जनसंख्यामा विद्युतको पहुँच पुगेको हालको अवस्थाबाट सन् २०२३ सम्म सम्पूर्ण नेपालीको घरधुरीमा विद्युतको पहुँच पुयाउने नेपाल सरकारको लक्ष्य रहेको छ। केन्द्रीय विद्युत प्रणालीबाट १३३२ मेगावाट विद्युत प्रवाह भइरहेको हालको अवस्थामा आगामी तीन वर्ष भित्र ५००० मेगावाट विद्युत प्रवाह गर्ने लक्ष्य प्राप्तिको लागि प्राधिकरण पूर्णरुपमा समर्पित भई कार्य गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु । ऊर्जा क्षेत्रको समग्र विकासको लागि प्राधिकरणलाई एउटा सक्षम र सवल निकायको रुपमा रुपान्तरण गर्न आवश्यक छ। लोडसेडिङ्गको अवस्थाबाट मुलुकलाई विद्युत निर्यात गर्ने अवस्थासम्म यति छिट्टै ल्याइपुयाउन प्राधिकरणले खेलेको महत्वपूर्ण भूमिकाको म सहाना गर्दछु। यद्यपी प्राधिकरणले चुहावट नियन्त्रण गर्ने, स्वचालित प्रणालीको विकास गर्ने, सूचना प्रविधि थप परिष्कृत बनाई यसको व्यापक उपयोग गर्ने र करार व्यवस्थापनमा सुधार गरी उत्पादन, प्रसारण र वितरण आयोजनाहरु समयमै सम्पन्न गर्ने जस्ता महत्वपूर्ण कार्यहरुमा थप सुधार गर्नुपर्ने आवश्यकता रहेको
छ ।
प्राधिकरणले आगामी ५ (पाँच) वर्षको लागि संस्थागत विकास योजना तयार पारेर सेवा प्रवाहलाई प्रवलिकरण गर्ने प्रतिबद्धता प्रकट गरेको छ । साथै उक्त संस्थागत विकास योजना ऊर्जा क्षेत्रको समग्र विकासको रणनीतिक योजनाको लागि महत्वपूर्ण सावित हुनेछ भन्ने मलाई विश्वास लागेको छ। माग व्यवस्थापन, उपयुक्त सुदृढीकरण सहितको आपूर्ति व्यवस्था, चुहावट व्यवस्थापन जस्ता योजनाहरु समावेश गरी प्राधिकरणलाई आधुनिक, चुस्त र प्रतिष्पर्धी संगठनको रुपमा विकास गर्ने लक्ष्य लिएको संस्थागत विकास योजना प्रगतिशिल र चलायमान दस्तावेजको रुपमा रहेको छ। प्राधिकरणको विगतको अनुभव र भविष्यको आवश्यकताको आधारमा संस्थागत विकास योजनाको लक्ष्य र उद्देश्य निर्धारण गरिएको छ। यसै उद्देश्य अनुरुप प्राधिकरणले राष्ट्रका प्राथमिक लक्ष्य र उद्देश्य पूरा गर्ने, प्राधिकरणलाई सक्षम, आधुनिक र चुस्त संगठनको रुपमा रुपान्तरण गर्ने र ग्राहक सेवामा सुधार गर्ने जस्ता रणनीतिक योजनाहरु अगाडि सारेको छ। प्राधिकरणमा अवको दिनमा विद्युत व्यापार महत्वपूर्ण र चुनौतीपूर्ण कार्यको रुपमा रहने छ। प्राधिकरणले आफ्नो उत्पादन केन्द्रबाट उत्पादित विद्युत र निजी क्षेत्रबाट यसले खरिद गर्ने विद्युतको परिमाण आगामी दिनमा थप बृद्धि हुँदै जाने देखिन्छ। अन्तर्देशीय तथा क्षेत्रीय विद्युत व्यापारको लागि नियामक निकायको प्रकृयाहरु पुरा गर्ने तर्फसमेत प्राधिकरणले आवश्यक कार्य तत्काल शुरु गर्नुपर्ने देखिन्छ । विद्युत व्यापारले नेपालको ऊर्जा क्षेत्रको विकासमा मात्र सहयोग गर्ने नभई ऊर्जा दक्षता र प्रणालीलाई सन्तुलन राख्नसमेत मद्दत गर्दछ । प्राधिकरणलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन मन्त्रालयका तर्फबाट म प्रतिबद्ध छु । पूर्णरुपमा समर्पित रही सम्पूर्ण ग्राहकवर्गमा उत्कृष्ट सेवा प्रदान गर्न सफल भएकोमा म पुनः एक पटक प्राधिकरण र यसमा कार्यरत कर्मचारी परिवारलाई बधाई तथा धन्यवाद दिन चाहन्छु । सरकारी तथा निजी क्षेत्रसँगको बलियो सहकार्यमा प्राधिकरणबाट हुने योगदानबाट सम्पूर्ण नेपालको सामाजिक तथा आर्थिक बृद्धिमा सघाउ पुग्ने कुरामा समेत म विश्वस्त छु । यसको लागि प्राधिकरणलाई हृदय देखि नै शुभकामना दिन चाहन्छु ।
दिनेशकुमार घिमिरे
सचिव ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय

Facebook Comments