एमडी कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणकाे ३५ औं वर्षगाठमा प्रस्तुत गर्नु भएकाे प्रतिवेदन

कार्यकारी निर्देशकको वार्षिक प्रतिवेदन -२०७७ विद्युत उत्पादन, प्रसारण र वितरण गर्ने उद्देश्यले २०४२ सालमा स्थापित नेपाल विद्युत प्राधिकरण ३६औं वर्षमा प्रवेश गरेको छ । प्राधिकरणको विगत ३५ वर्षको यात्रा सोचे जस्तो सुखद् रहन सकेन ।  आफ्ना ग्राहकहरुलाई लोडसेडिङ गरी विद्युत आपूर्ति गर्नुपरेको तीतो अनुभब हामीले बिर्सन सकेका छैनौं । यद्यपी पछिल्लो ४ वर्षमा विद्युतको नियमित आपूर्ति गर्न र प्राधिकरणको आर्थिक अवस्थामा उल्लेख्य सुधार गर्न हामी सफल भएका छौं । प्राधिकरणले गत वर्ष भरीमा सम्पादन गरेका गतिबिधिहरुबाट प्राप्त उपलब्धि र भाबी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन यहाँहरुसमक्ष प्रस्तुत गर्न पाउँदा हामीलाई खुसी लागेको छ। सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत पुऱ्याउने (Electricity for all) लक्ष्यका साथ अगाडि बढिरहेको नेपाल विद्युत प्राधिकरणको नेतृत्व गर्न पाउँदा म आफुलाई भाग्यमानी सम्झेको छु । प्राधिकरणको ३५औं बार्षिकोत्सवलाई हामीले विगत वर्षमा हासिल गरेको प्रगतिको समीक्षा र आगामी बर्षमा आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरको सेवा उपलब्ध गराउन प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसरकोरुपमा लिएका छौं । कोभिड-१९ महामारीको बिषम परिस्थितिको कारण नेपाल सरकारले जारी गरेको बन्दाबन्दीमा समेत ग्राहकहरुलाई नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । बिगतका जीर्ण संरचना, काबु बाहिरको परिस्थिति तथा प्राविधिक कारणले यदाकदा विद्युत आपूर्ति अवरुद्ध हुने गरेकोमा त्यसलाई यथासक्य न्यूनिकरण र निराकरण गर्न प्राधिकरणले आफनो प्रसारण र वितरण संरचनाहरुको सुदृढीकरण गरी समस्यामुक्त प्रणालीको विकास गर्न उल्लेख्य लगानी गरिरहेको अवगत गराउन चाहन्छु । ब्यापारिक सिद्धान्त अनुशरण गरी कार्य सञ्चालन गर्ने उद्देश्यसहित स्थापित प्राधिकरणले वितेको लामो समयसम्म चरम नोक्सानी व्यहोर्नु परेको थियो । आ.व.२०७३।७४ देखी मुनाफा आर्जन गर्न शुरु गरेको प्राधिकरणले मुनाफामा क्रमशः बृद्धि गर्दै आ.व.२०७४।७५ मा रु.२ अर्व ८५ करोड, आ.व. २०७५।७६ मा रु.९ अर्व ८१ करोड र आ.व. ०७६।७७ मा हाल सम्मकै उच्च मुनाफा अर्थात रु.११ अर्व ५ करोड आर्जन गर्न सफल भएको छ । आ.व. २०७५।७६ मा प्रणाली चुहावटलाई १५.३२ प्रतिशतमा कायम राख्न सकिएकोमा कोभिड-१९ बाट सिर्जित प्रतिकुल परिस्थितिको बाबजुद गत आ.व. २०७६।७७ मा प्रणाली चुहावटलाई १५.२७ प्रतिशतमा सिमित राख्न पनि हामी सफल भएका छौं । यसबाट प्राधिकरणको मुनाफामा उल्लेख्यरुपमा बृद्धि गर्न सम्भब भएकोले आगामी वर्षहरुमा पनि चुहावट नियन्त्रण सम्बन्धी थप योजनाहरु कार्यान्वयन गरी चुहावटलाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको निश्चित तहमा सीमित गर्न हामी प्रतिबद्ध छौं ।
विगतमा विविध कारणले निर्माण सम्पन्न हुन नसकेको १४ मेगावाटको कुलेखानी तेश्रो जलविद्युत आयोजना लगायत बिभिन्न प्रसारण तथा वितरण लाइन आयोजनाहरु गत वर्ष सम्पन्न गरिएको छ।
विश्वमा उपलब्ध आधुनिक प्रविधिहरुको अधिकतम प्रयोग गरी सेवा प्रवाहमा चुस्तता ल्याउन र ग्णस्तर बृद्धि गर्न प्राधिकरण प्रयत्नशिल छ । यसै अनुसार Enterprise Resource Planning (ERP) प्रणालीलाई लागू गर्ने, संरचनाहरुको भौगोलिक नक्साङ्कन गर्ने (Geographical Mapping ‘GIS’), स्मार्ट मिटर जडान गर्ने, सवस्टेशनहरु स्वचालित गर्ने, सूचना प्रविधिको प्रवर्द्धन र विस्तार गर्ने कार्यहरु शुरु गरिएको छ। संस्था भित्रका व्यवसायिक गतिविधिहरु प्रविधिको उच्चतम उपयोग गरी डिजिटल प्राधिकरण (Digital NEA) बनाउने तर्फ प्राधिकरण अगाडि बढेको छ । यसबाट नेपाल सरकारको ‘डिजिटल नेपाल’ निर्माण गर्ने लक्ष्य पूरा गर्नसमेत थप सहयोग पुग्नेछ। पर्याप्त सुरक्षा अपनाउँदा अपनाउँदै पनि गतवर्ष कर्तव्य निर्वाहको क्रममा प्राधिकरणको केहि कर्मचारीहरु घाईते, अङ्गभङ्ग हुनुका साथै केहिको दुखःद् निधनसमेत भएको छ । आफ्नो कर्तब्य पालना गरिरहदा कोभिड-१९ संक्रमणकै कारणले प्राधिकरणले आफ्नो परिवारको एक सदस्य गुमाउनु परेकोमा हामीलाई थप मर्माहत बनाएको छ । दिवंगत कर्मचारीहरुप्रति म व्यक्तिगत र संस्थाको तर्फबाट चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा भाबपूर्ण समबेदना ब्यक्त गर्दछु । आगामी दिनमा यस किसिमका घटनाहरु हुन नदिन पर्याप्त सुरक्षाका उपायहरु अवलम्वन गरी उच्च सर्तकताका साथ कार्यक्षेत्रमा खटिने ब्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दछ । संचालन उपलब्धि नेपाल विद्युत प्राधिकरणको उपभोक्ता संख्या बर्षेनी क्रमिकरुपले बृद्धि हुँदै गइरहेको छ । अघिल्लो आ.व. सम्मको ग्राहक संख्या ३९ लाख १० हजारमा ७.८८ प्रतिशतले बृद्धि भई गत आ.व. ०७६।७७ सम्ममा ४२ लाख १८ हजार पुगेको छ । जसमा सामुदायीक ग्रामीण विद्युतीकरणबाट विद्युत सेवा उपयोग गरिरहेका ग्रामिण भेगका करिव ५ लाख ७० हजार ग्राहक समावेस छैन । ग्राहक संख्या ४४ लाख ७२ हजार पुऱ्याउने निधारित लक्ष कोभिड-१९ को प्रकोपको कारणले पुरा हुन सकेन । ग्राहक संख्याको ९३.२६ प्रतिशत अर्थात ३९ लाख ३४ हजार ग्राहस्थ वर्गका उपभोक्ता रहेका छन् । जसको कुल विद्युत बिक्री आम्दानीमा ३९.८४ प्रतिशत योगदान रहेको छ । कुल विद्युत बिक्रीबापतको आम्दानीमा ३७५१ प्रतिशत योगदान औद्योगिक बर्गका ग्राहकको रहेको छ भने
अन्य वर्गका ग्राहकको योगदान २२.६५ प्रतिशत रहेको छ । कुल जनसंख्याको करिव ८६ प्रतिशतमा विद्युत सेवाको पहुँच पुगेको छ। नेपाल विद्युत प्राधिकरणका सबै उत्पादन केन्द्रहरुबाट आ.व.२०७५।७६ को २ अर्व ५४ करोड ८० लाख युनिटको तुलनामा आ.व.२०७६।७७ मा १८.५७ प्रतिशतले बृद्धि भई ३ अर्व २ करोड १० लाख युनिट विद्युत उत्पादन भएको छ । उल्लेखित विद्युत उत्पादन बृद्धि हुनमा ६० मेगावाटको
त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी तेश्रो जलविद्युत आयोजनाबाट भएको विद्युत उत्पादनको समेत योगदान रहेको छ। निजी विद्युत उत्पादनकर्ताहरुबाट २ अर्व ९९ करोड १० लाख युनिट विद्युत खरिद गरिएको छ। जुन आ.व.२०७५।७६ को २ अर्व १९ करोड युनिटको तुलनामा ३६.५७ प्रतिशतको बृद्धि हो । भारतसंगको विद्युत आयात परिमाण आ.व.२०७५।७६ को २ अर्व ८१ करोड ३० लाख युनिटको तुलनामा ३८.५५ प्रतिशत ले कमि भई १ अर्व ७२ करोड ९० लाख युनिटमा झरेको छ। भारतबाट आयात गरिने विद्युतको परिमाण घट्न गएता पनि प्रणालीमा उपलब्ध विद्युतको परिमाण आ.व.०७५।७६ को ७ अर्व ५५ करोड १० लाख युनिट भन्दा २.५१ प्रतिशतले बढी अर्थात ७ अर्व ७४ करोड १० लाख युनिट पुगेको छ। प्रणालीमा उपलब्ध विद्युतमा प्राधिकरणको उत्पादन केन्द्रबाट उत्पादित, भारतबाट आयातित र निजी क्षेत्रका प्रबर्द्धकबाट उत्पादित विद्युतको हिस्सा क्रमशः ३९.०२ प्रतिशत, २२.३४ प्रतिशत र ३८.६४ प्रतिशत रहेको छ। कोभिड-१९ को प्रकोपको कारण विद्युत खपतमा उल्लेख्यरुपमा बृद्धि हुन नसकी सामान्य बृद्धि हुन पुगेको छ । आ.व.२०७५।७६ को विद्युत खपत ६ अर्व ३३ करोड ८० लाख युनिट रहेकोमा आ.व.०७६।७७ को विद्युत खपत ६ अर्व ५२ करोड ९० लाख युनिट रहेको छ। आ.व.०७२।७३ मा २५.७८% रहेको विद्युत चुहावटलाई प्रभावकारी रुपमा चालिएका कदमहरुको परिणमस्वरुप विद्युत चुहावटलाई आ.व. ०७३।७४, ०७४।७५ र ०७५।७६ मा क्रमशः २२.९०%, २०.४५% र १५.३२ % मा सीमित गर्न सकिएको थियो । कोभिड-१९ को प्रतिकुलताको बाबजुद आ.व.०७६।७७ मा विद्युत चुहावटलाई १५.२७ % मा झार्न सफल भएका छौं । कोभिड-१९ को प्रकोपको कारण मिटर रिडिङ्ग, बिलिङ्ग र आय संकलन जस्ता कार्यहरु अघिल्लो बर्षको पछिल्लो चौमासिकमा नराम्ररी प्रभावित हुन पुग्यो । चैत, बैशाख र जेठ महिनामा मिटर रिडिङ्ग गर्न नसकि औसत बिलिङ्ग गरिएको कारण बास्तविक खपत परिमाण मापन हुन नसकेकोले धेरै ग्राहकहरुले सामना गर्नुपरेको कम बिलिङ्ग र उच्च बिलिङ्गको समस्या असार महिनामा मिटर रिडिङ्ग गरि समायोजन गरिएको छ । तर यो समस्या मिटर रिडिङ हुन नसकेका केही ग्राहकहरुमा विद्यमान रहेको भन्ने गुनासो आउने गरेको छ । यसलाई साउनदेखिको बिलमा समायोजन गरिँदै
आएको छ। कोभिड-१९ को कारण चुहावट बढी भएको क्षेत्रमा नियन्त्रण गर्न कर्मचारीहरु परिचालन गर्न नसकिएको र उद्योगहरु बन्द भई औद्योगिक खपत घट्न गएकोले चुहावटको निर्धारित लक्ष्य १४.५ प्रतिशत प्रा गर्न सम्भब भएन । आगामि बर्षमा थप सशक्त ढंगले चुहावट नियन्त्रणको काम कारवाहीहरु अगाडि बढाइने छ। वित्तिय उपलब्धि आ.व.०७६।७७ मा प्राधिकरणको खुद मुनाफा रु.११ अर्ब ५ करोड (कर अघि) रहेको छ । जुन अघिल्लो आ.व. ०७५।७६ को रु.९ अर्व ८१ करोडको तुलनामा १२.६४ प्रतिशतले बढी छ ।
ev
प्राधिकरणको आ.व.०७५।७६ सम्मको संचित नोक्सानी रु. १२ अर्व २३ करोड रहेकोमा आ.व.०७६।७७ मा संचित मुनाफा रु.४ अर्व ८६ करोड आर्जन गर्न सफल भएको छ। आ.व.०७६।७७ मा विद्युत बिक्री तथा अन्य आम्दानी गरी कुल रु. ७७ अर्व ८० करोड आम्दानी भएको छ । जुन गत आ.व.०७५।७६ को रु.७६ अर्व २० करोडको तुलनामा २.०९% ले बढी रहेको छ। नियमित विद्युत सप्लाई गर्न सकिएको कारण विद्युत खपतमा बृद्धि भई विद्युत बिक्री बापतको आम्दानीमा बृद्धि हुन पुगेको हो । यद्यपी कोभिड-१९ ले विद्युत खपत र बिक्रीमा हुने अपेक्षित बृद्धिलाई प्रभावित गरेको छ। आ.व.०७६।७७ मा प्राधिकरणको संचालन खर्च अघिल्लो आर्थिक वर्षको रु.५९ अर्व २२ करोडको तुलनामा १.९५ ले न्यून अर्थात रु.५८ अर्व ७ करोड रहेको छ । विद्युत खरिद बापत आ.व.०७५।७६ मा ३८ अर्व ८९ करोड खर्च भएकोमा आ.व.०७६।७७ मा रु.३५ अर्व १९ करोड मात्र खर्च भएको छ। आ.व. ०७६।७७ मा अन्य आय बाहेकको प्राधिकरणको आम्दानी रु.७३ अर्व ७६ करोडमा संचालन खर्च रु.५८ अर्व ६ करोड कट्टा गर्दा संचालन मुनाफा रु.१५ अर्व ६९ करोड हुन आएको छ । जुन आ.व. ०७५।७६ को संचालन मुनाफा रु.१२ अर्व ५ करोडको तुलनामा ३०.२१% ले बढी रहेको छ। कुल उपलब्ध विद्युतमा विद्युत खरिदको हिस्सा ६०.९८ % रहेको छ । विद्युत बिक्री बापतको खुद आम्दानी रु.६८ अर्व ५३ करोड मध्ये ५१.३५% रकम विद्युत खरिदमा खर्च भएको छ । आ.व. ०७५।७६ को तुलनामा विद्युत आयात घट्न भएकोले आ.व.०७६।७७ मा विद्युत खरिद बापतको खर्चमा .९.५१% ले घट्न गएको छ। आ.व.०७६।७७ को अन्य संचालन खर्च उत्पादन, रोयल्टी, प्रसारण र वितरणतर्फको क्रमशः रु.२ अर्व ११ करोड, रु.१ अर्व ५७ करोड, रु.२ अर्व १५ करोड र रु.९ अर्व २५ करोड रहेको छ। आ.व.०७६।७७ मा दिर्घकालीन ऋणको व्याज आ.व. ०७५।७६ को रु.३ अर्ब ९८ करोडको तुलनामा रु.४ अर्ब ७४ करोड पुगेको छ । त्यस्तै ह्रास कट्टी खर्च (Depreciation Expenses) अघिल्लो बर्षको रु.४ अर्व ८५ करोडमा ३.०५% ले बृद्धि भई ५ अर्व पुगेको छ । विदेशी मुद्रा विनिमय तर्फको अघिल्लो बर्षको नोक्सानी रु. ९० लाखमा बृद्धि भई रु. ४३ करोड ६० लाख हुन पुगेको छ । अघिल्लो वर्षसम्मको पूँजिगत कार्यको लगानीमा रु.५४ अर्व ६३ करोडले थप भई आ.व.०७६।७७ सम्मको कुल पूँजिगत लगानी रु.१ खर्व २४ अव ४७ करोड पुगेको छ । उपदान, निवृत्तिभरण, औषधि उपचार खर्च, संचित बिदा जस्ता कर्मचारीको दिर्घकालिन दायित्वको लागि रु.३ अर्व ५० करोड छुट्टयाइएको छ।
प्रशासनिक गतिविधि
कर्मचारीको बृत्ति बिकास र सेवा सुविधालाई ध्यानमा राखी नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ मा संशोधन गरिएको छ । केन्द्रीकृत विद्युतीय हाजिरी लागू गर्ने क्रममा हाल प्रधान कार्यालयमा कार्यान्वयन गरिसकिएको छ भने निकट भविश्यमानै सम्पूर्ण कार्यालयहरुमा कार्यान्वयन गरिने योजना रहेको छ। प्राधिकरणको साङ्गठनिक तथा दरवन्दी सँरचनामा समयानुकुल सुधार गर्न गठित उपसमितिले अध्ययन सम्पन्न गरी प्रतिवेदन पेश गरिसकेको छ। आ.व.०७६।७७ मा विभिन्न तहमा ११४ जना नयाँ कर्मचारी नियुक्त भएका छन् भने ४७० जना कर्मचारीहरु विभिन्न तहमा बढुवा भएका छन् । बिभिन्न तहमा रिक्त १०९३ पद संख्या लोक सेवा आयोगको पदपूर्तिको प्रक्रियामा रहेका छन् । आ.व.०७६।७७ मा कुल ४६५ जना कर्मचारीले अवकाश प्राप्त गरेका छन् । प्राधिकरणबाट संचालित आयोजनाहरु वि.सं.२०७२ को बिनाशकारी भूकम्प र लगत्तैको तराई बन्दको कारण निर्माणाधिन आयोजनाहरु सम्पन्न हुन ढिलाई भयो । ६० मेगावाटको त्रिशुली ३ए जलविद्युत आयोजना सम्माननिय प्रधानमन्त्रीज्यूबाट १८ नोभेम्बर २०१९ मा समुदघाटन् भयो । यस्तै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट ११ अक्टोबर २०१९ देखि पूर्णक्षमतामा विद्युत उत्पादन भई रहेको छ। नेपाल विद्युत प्राधिकरणबाट अगाडि बढाईएका दुधकोशी, माथिल्लो अरुण, माथिल्लो मोदी र उत्तरगंगा लगायतका जलविद्युत आयोजनाहरु विकासको विभिन्न चरणमा रहेका छन् । आ.व.०७६।७७ मा १३२ के.भि. र सो भन्दा माथीका क्षमताका २७९.७२ सर्किट कि.मि. बराबरको प्रसारण लाईनहरु निर्माण सम्पन्न भएका छन् भने मौजुदा सवस्टेशनको क्षमता बृद्धि समेत कुल ३६४.४ एम.भि.ए. क्षमता बराबरको सवस्टेशन प्रणालीमा थप भएको छ । १३२ के.भि., २२० के.भि. र ४०० के.भि. का क्रमश: १,३२२ सर्किट कि.मि., १,२७२ सर्किट कि.मि. र ७५६ सर्किट कि.मि. गरी कुल ३,३५० सर्किट कि.मि. प्रसारण लाइन निर्माण भइरहेका छन् । त्यस्तै कुल ९,८६६ एम.भि.ए. बराबरको ग्रिड सवस्टेशनहरु निर्माणाधिन छन् । देशको कुल १५ जिल्लामा पूर्णरुपले विद्युतीकरण गर्न प्राधिकरण सफल भएको छ । कोभिड-१९ को प्रकोप सामना गर्न नपरेको भए पूर्णरुपले विद्युतीकरण हुने जिल्लाको संख्या थप बढ्न सक्थ्यो । आ.व.०७६।७७ मा ९ वटा नयाँ र १७ वटा ३३/११ के. भि. वितरण सवस्टेशनहरुको क्षमता अभिबृद्धि गरी कुल ४०१ एम.भि.ए. क्षमता बराबरका सवस्टेसन थप भएको छ । वितरण सवस्टेशनको संख्या कुल १५१ वटा र कुल क्षमता १,७०१.५ एम.भि.ए. पुगेको छ। आ.व.०७६।७७ मा ३३ के.भि., ११ के.भि. र ४००/२२० भोल्टको क्रमशः ४०२.८४ सर्किट कि. मि., २,९९६.५२ सर्किट कि.मि. र ११,८८८.८५ सर्किट कि.मि. लाइन निर्माण सम्पन्न भएका छन् । हालसम्म निर्माण सम्पन्न भई संचालनमा रहेको ३३ के.भि. लाइन, ११ के.भि. लाइन र ४००/२२० भोल्ट लाइनको परिमाण
क्रमशः ५,३१० सर्किट कि.मि., ३८,७२३ सर्किट कि.मि. र १,२०,३६५ सर्किट कि.मि. रहेको छ । त्यसैगरी हालसम्म ३,२०५ एम.भि.ए. को ३५,५३७ वटा वितरण ट्रान्स्फर्मरहरु वितरण प्रणालीमा जडान भएका छन् । नेपाल सरकारको विद्युत सम्बन्धी मार्गचित्र अनुसार सन् २०२३ सम्म प्रत्येक घरधुरीमा विद्युत सेवा पुऱ्याउन प्राधिकरण प्रतिबद्ध रहेको र सोही अनुसार विद्युतीय प्रणालीको विस्तार उच्च प्रथमिकतामा राखी कार्य गर्दै आएको छ । विद्युत सेवालाई थप भरपर्दो र नियमित बनाउन मौजुदा संरचनाको सुदृढीकरण कार्यलाई निरन्तररुपमा अघि बढाइएको छ । विद्युत सेवालाई थप सुरक्षित पार्न र शहरी सौन्दर्य समेतलाई दृष्टगत गरी वितरण प्रणाली भूमिगत गर्ने योजना अनुरुप प्रथम चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा कार्य शुरु गरिसकिएको छ भने काठमाडौ उपत्यकाको बानेश्वर, कुलेश्वर, जोरपाटी, बालाजु र किर्तिपुर वितरण केन्द्रको क्षेत्रमा कार्य गर्न ठेकेदार छनौट भइसकेको छ। त्यस्तै गरी ललितपुर र भक्तपुर जिल्ला अन्तर्गतका शहरी क्षेत्रमा वितरण प्रणाली सुदृढीकरण गर्न बोलपत्र आव्हान गरिएको छ। काठमाडौं उपत्यका बाहिर भरतपुर र पोखरामासमेत वितरण प्रणाली भूमिगत गर्ने कार्यको लागि यसै आ.व.मा बोलपत्र आव्हान गरी ठेक्का सम्झौता गरिने छ। प्राधिकरणको कार्यक्षमता अभिवृद्धि गर्न, चुहावट न्यूनिकरण गर्न र ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न स्मार्ट ग्रिड, स्मार्ट मिटर जस्ता डिजिटल प्रविधिको उपयोग गर्ने क्रममा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रको सम्पूर्ण ग्राहकहरुको इलेक्ट्रोमेकानिकल मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य शुरु भइसकेको र सो कार्य सन् २०२० को अन्त सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । काठमाडौं उपत्यकाको बाँकी सम्पूर्ण ग्राहकहरुको घरमासमेत स्मार्ट मिटर जडान गर्ने योजना अनुरुप यसै आ.व. भित्र बोलपत्र आव्हान गरी ठेक्का सम्झौता गर्ने लक्ष्य रहेको छ। अनलाईन केन्द्रीकृत बिल भुक्तानी प्रणालीको अबलम्बन गर्दा ग्राहकलाई विद्युत महशुल भुक्तानी गर्न सहज हुने भएकोले विद्युत महशुल संकलनमा बृद्धि हुने अपेक्षा गरिएको छ । एम पावर (MPower) बिलिङ्ग प्रणाली कुल १८१ मध्ये १७५ विद्युत महशुल संकलन केन्द्रमा लागू गरिसकिएको छ। प्राधिकरणले स्मार्ट मिटर, स्वचालित ग्रिड सवस्टेशन प्रणाली तथा Enterprise Resource Planning प्रणाली लागू गर्ने प्रक्रिया प्रारम्भ गरिसकेको छ। उक्त आधुनिक प्रविधिहरुको उचित कार्यान्वयनका लागि आवश्यक पर्ने वितरण प्रणाली नियन्त्रण केन्द्र (Distribution Control Center) र तथ्याङ्क केन्द्र (Data Center) स्यूचाटारमा निर्माण गर्ने गरी यसै आ.व. भित्र बोलपत्र आव्हान गरि ठेक्का सम्झौता सम्पन्न गर्ने लक्ष्य रहेको छ। ग्रिड सवस्टेशनहरु स्वचालित हुनसके ग्रिड प्रणाली सुदृढ हुने, सटडाउन घटने, विद्युत सेवा थप भरपर्दो र नियमित हुने साथै संचालन संभार खर्चसमेतमा कमि आउने भएकोले काठमाडौं उपत्यकाको १३ वटा ग्रिड सवस्टेशनलाई स्वचालित बनाउने कार्यको लागि ठेक्का सम्झौता भई डिजाइन गर्ने लगायतका कार्यहरु शुरु भइसकको छ। काठमाडौं उपत्यका बाहिरका अन्य ४० वटा ग्रिड सवस्टेशन स्वचालित गर्ने कार्यसमेत यसै आ.व.मा बोलपत्र आव्हान गरी ठेक्का सम्झौता गरिने छ। विगतमा कार्यान्वयन गरिएको माग व्यवस्थापन, ऊर्जादक्षता कार्यक्रमले उच्च विद्युत मागको समयमा विद्युत तथा ऊर्जाको परिमाण घटाउन सफलता मिलेको छ । यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने छ । विभिन्न सवस्टेशन तथा वितरण ट्रान्स्फर्मरमा जडान गरिएको क्यापासिटर बैंकले चुहावट न्यूनिकरण, भोल्टेज र विद्युतको गुणस्तरमा सुधार गर्ने भएकोले यस कार्यलाई समेत निरन्तरता दिँदै विद्युतीय उपकरणको समुचित प्रयोगको लागि ग्राहक सचेतना कार्यक्रम मुलुकभर सञ्चालन गरिने छ । प्राधिकरणका सहायक कम्पनीहरू प्राधिकरणले प्रथम पटक सहायक कम्पनी स्थापना गरी सोमार्फत चिलिमे जलविद्युत आयोजनाको निर्माण र कार्यान्वयन गर्दा प्राप्त गरेको सफलताबाट उत्साहित हुँदै शिघ्र निर्णय लिन, प्रभाबकारीरुपमा जनसहभागिता अभिवृद्धि गर्न र स्वदेशी पूँजी परिचालन गर्ने उद्देश्यले बिभिन्न आयोजनाहरु कम्पनी मोडलमा बिकास निर्माण गरेको छ । प्राधिकरणका सहायक कम्पनीहरु र सोमार्फत संचालित विभिन्न आयोजनाको प्रगति एवं वर्तमान अवस्था निम्नानुसार रहेको छ:
चिलिमे जलविद्युत कम्पनी लिमिटेडः प्राधिकरणको सहायक कम्पनीको रुपमा स्थापित चिलिमे जलविद्युत कम्पनीको स्वामित्वमा २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र संचालनमा रहेको छ । चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीहरु (क) रसुवागढी (ख) मध्ये भोटेकोशी र (ग) सान्जेन जलविद्युत कम्पनी लिमिटेडबाट प्रबर्द्धित जलविद्युत आयोजनाहरु क्रमश: १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको सान्जेन तथा १४.८ मेगावाटको अपर सान्जेन जलविद्युत आयोजनाहरु निर्माणका विभिन्न चरणमा रहेका छन् । तीमध्ये १११ मेगावाटको रसुवागढी र दुवै सान्जेन जलविद्युत आयोजनाहरु आ.व. २०२०/२१ मा सम्पन्न हुने अवस्थामा रहेको छ । उपरोक्त ४ वटै आयोजनाहरु नेपाल सरकारको कार्यक्रम “नेपालको पानी जनताको लगानी, हरेक नेपाली बिद्युतको शेयरधनी’ मा समावेश छ । पछिल्लो समयमा निर्माण प्रगती सन्तोषजनक रहेको मध्ये भोटेकोशी जलविद्युत आयोजनामा गत ८ जुलाई २०२० मा आएको बाढीले धेरै नोक्सानी पुऱ्याएको हुँदा निर्माण सम्पन्न हुन थप समय लाग्ने देखिन्छ। परामर्श सेवा प्रदान गर्ने उद्देश्यले स्थापित चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अर्को सहायक कम्पनी चिलिमे इन्जिनियरिङ्ग एण्ड सर्भिसेज कम्पनी लिमिटेडबाट ३ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन भईरहेको छ भने अपर सान्जेन तथा सान्जेन जलविद्युत आयोजनामा आयोजना सुपरिवेक्षण परामर्शदाताको रुपमा सेवा प्रदान गरिरहेको छ।
माथिल्लो तामाकोशी जलविद्युत लिमिटेडः माथिल्लो तामाकोशी जलविद्युत कम्पनी लिमिटडद्वारा स्वदेशी पूँजिबाट निर्मित राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विभिन्न आरोह अवरोह पार गर्दै रिजर्भवायर बाँध (Dam) तथा इन्टेक वेयर (Intake Weir) मा पानी छोडी परिक्षण गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । चुनौतिको रुपमा रहेको ३६७ मिटरको तल्लो र ३०५ मिटरको माथिल्लो भर्टिकल साफ्ट (Vertical Shaft) २ जुलाई २०२० मा सम्पन्न भएको छ । विद्युत गृहको पहिलो यूनिटबाट डिसेम्वर २०२० मा र सबै ६ यूनिटबाट फेब्रुवरी २०२१ सम्ममा विद्युत उत्पादन गरिसक्ने लक्ष्य रहेको छ। साथै माथिल्लो तामाकोशी जलविद्युत कम्पनीबाट इन्जिनियरिङ्ग प्रोक्यूरमेन्ट र कन्स्ट्रक्सन (Engineering, Procurement & Construction) पद्दतिमा २२ मेगावाटको रोलवालिङ खोला जलविद्युत आयोजना निमार्ण गर्न प्राप्त बोलपत्रहरुको मूल्याङ्कन गर्ने कार्य भइरहेको छ। तनहुँ जलविद्युत कम्पनी लिमिटेड: तनहुँ जलविद्युत कम्पनी लिमिटेडबाट अन्तराष्टिय विकास साझेदारहरु एशियाली विकास बैंक (ADB), जापान अन्तराष्ट्रिय सहयोग नियोग (JICA) र यूरोपियन इन्भेष्टमेन्ट बैंक (EIB) को ऋण सहयोगमा १४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत आयोजना निर्माण भइरहेको छ । खरिद प्याकेज २ अन्तर्गत विद्युत गृह, जलमार्ग र सम्बन्धित उपकरणको निर्माण तथा जडान कार्य एवं खरिद प्याकेज ३ अन्तर्गत २२० के. भि. प्रसारण लाइन निर्माण कार्यको ठेकेदार छनौट भई निर्माण कार्य शुरु भइसकेको छ । खरिद प्याकेज १ अन्तर्गत हेडवर्क्स (Head works) निर्माण कार्यको लागि छनौट गरिएको ठेकेदार सिएमसि डे राभेना इटालीसँगको करार सम्झौता रद्द गरी पुनः बोलपत्र आव्हान गरिएको छ । बोलपत्र मूल्याङ्कन भइरहेको र अक्टोबर २०२० सम्म ठेक्का सम्झौता सम्पन्न गर्ने लक्ष्य रहेको छ । तनहुँ जलविद्युत कम्पनी लिमिटेडबाट प्रवर्द्धन गर्न लागिएको अर्को १०४ मेगावाटको तल्लो सेति जलविद्युत आयोजनाको विस्तृत डिजाइन कार्य एशियाली विकास बैंकको अनुदान सहयोगमा संयुक्त उपक्रम परामर्शदाता वाप्कोस लिमिटेड र निप्पोन कोई कम्पनी लिमिटेडबाट भइरहेको छ । परामर्शदाताले सन् २०२० को अन्त्यसम्ममा बिस्तृत इन्जिनियरिङ्ग डिजाइन प्रतिबेदन पेश गर्ने अपेक्षा गरिएको छ। त्रिशुली जलविद्युत कम्पनी लिमिटेड: नेपाल विद्युत प्राधिकरण र नेपाल दुरसंचार कम्पनी लिमिटेड मुख्य प्रबर्द्धक रहेको त्रिशुली जलविद्यत कम्पनी लिमिटेडबाट अपर त्रिशली ३ए को क्यास्केड आयोजनाको रुपमा ३७ मेगावाटको माथिल्लो त्रिशुली ३बि जलविद्युत आयोजनाको निर्माण भइरहेको छ । नेपाल सरकारको “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी” कार्यक्रममा
समावेश यस आयोजना इन्जिनियरिङ्ग प्रोक्यूरमेन्ट एण्ड कन्स्ट्रक्सन (EPC) ढाँचामा ठेकेदार Shufia ANHE Group Co. Limited, China बाट निर्माण भइरहेको छ। यस आयोजनाको निर्माण कार्य १४ मार्च २०१८ मा शुरु भई मार्च २०२१ मा सम्पन्न गर्ने लक्ष्य रहेपनि कोभिड-१९ प्रकोपको कारण निर्माण सम्पन्न गर्न थप समय लाग्ने देखिन्छ। रघुगंगा जलविद्युत कम्पनी लिमिटेड: रघुगंगा जलविद्युत कम्पनी लिमिटेडबाट ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माण भइरहेको छ । यस आयोजनाको सिभिल तथा हाईड्रोमेकानिकल कार्य ठेकेदार भारतको जय प्रकाश एसोसिएट्स लिमिटेड रहेको छ भने इलेक्ट्रोमेकानिकल कार्यको ठेकेदार भारत हेभी इलेक्ट्रिकल लिमिटेड रहेको छ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण भइरहेको यस आयोजना जनवरी २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । माथिल्लो अरुण जलविद्युत कम्पनी लिमिटेड: १०६० मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला जलविद्युत आयोजना निर्माणको लागि माथिल्लो अरुण जलविद्युत कम्पनी स्थापना गरिएको हो। यी दुबै जलविद्युत आयोजना निर्माणको विस्तृत इन्जिनियरिङ्ग डिजाइन तथा बोलपत्र तयार पार्ने कार्यको लागि नियुक्त परामर्शदाताबाट संभाव्यता अध्ययन प्रतिवेदन अद्यावधिक गरी पेश भईसकेको छ। यसैगरी पहुँच मार्ग निर्माणको लागि विस्तृत इन्जिनियरिङ्ग डिजाईन, बोलपत्र सम्वन्धी कागजातको तयारी, निर्माण सुपरिवेक्षण तथा करार व्यवस्थापनको लागि नियुक्त परामर्शदाताबाट डिजाइनको मस्यौदा प्रतिवेदन एवम् बोलपत्र पुनरावलोकनको लागि पेश भएको छ । साथै अतिरिक्त भौगर्भिक अध्ययन, विस्तृत इन्जिनियरिङ्ग डिजाईनका साथै वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन कार्य समेत संयुक्तरुपमा अगाडी बढाइएको छ । यो आयोजनाको वित्तिय व्यवस्थापनको लागि विश्व बैंकले नेतृत्वदायी भूमिका लिएको छ। तामाकोशी जलविद्युत कम्पनी लिमिटेड: तामाकोशी जलविद्युत कम्पनी लिमिटेडमार्फत माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको क्यास्केड (Cascade) आयोजनाको रुपमा रहेको ९९.८ मेगावाटको तामाकोशी जलविद्युत आयोजना विकास गर्न लागिएको छ । परामर्शदाता Tractable Engineering GMBH बाट आयोजनाको विस्तृत डिजाईन तथा बोलपत्र तयार पार्ने कार्य सम्पन्न भइसकेको छ । आयोजना निर्माण सुपरिवेक्षणको परामर्शदाता छनौट गर्न आशयपत्रको मूल्याङ्कन भइरहेको छ । त्यस्तै आयोजनाको लागि स्थाई आवास लगायतको पूर्वाधार निर्माण कार्यको लागि आव्हान गरिएको बोलपत्रमा भाग लिएका बोलपत्रदाताहरुको बोलपत्र मूल्याङ्कन भइरहेको छ। आयोजनामा आर्थिक लगानी गर्न कर्मचारी संचयकोषसँग छलफल अगाडी बढाइएको छ।
८. दुधकोशी जलविद्युत कम्पनी लिमिटेड:
६३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको लागि प्राधिकरणबाट यस सहायक कम्पनीको स्थापना गरिएको हो । एशियाली विकास बैंक (ADB) को अनुदान सहयोगमा परामर्शदाताबाट आयोजनाको अन्तिम विस्तृत डिजाईन प्रतिवेदन तयार भइसकेको र सोमा प्राधिकरणबाट उपलब्ध गराइएको सुझावहरु समेट्ने कार्य भइरहेको छ । ADB को अगुवाईमा युरोपियन इन्भेष्टमेन्ट बैंक (EIB), एशियन इन्फ्रास्ट्रक्चर इनभेष्टमेन्ट बैंक (AIIB) र कोरियन एक्जिम बैंकबाट संयुक्तरुपमा आयोजनामा लगानी गर्नेतर्फ छलफल अगाडि बढेको छ। एनईए इन्जिनियरिङ्ग कम्पनी लिमिटेडः ऊर्जा क्षेत्रको विकासको लागि इन्जिनियरिङ्ग सेवा प्रदान गर्न प्राधिकरणको ५१ प्रतिशत शेयर रहने गरी यस कम्पनीको स्थापना भएको छ । ठूला जलविद्युत आयोजना, उच्च भोल्टेजको प्रशारण लाइन तथा सवश्टेशन, आधुनिक विद्युत वितरण प्रणालीमा स्वदेशी प्राविधिकहरुको क्षमता अभिबृद्धि गर्ने कार्यमा संलग्न भइसकेको यस कम्पनीबाट हालसम्म विभिन्न ८ वटा इन्जिनियरिङ्ग तथा डिजाइन सम्बन्धि कार्य सम्पादन गरिसकेको छ भने अन्य २० भन्दा बढि इन्जिनियरिङ्ग तथा डिजाइन सम्बन्धि सम्झौता अनुसारका कार्यहरु गरिरहेको छ । इन्जिनियरिङ्ग सेवालाई थप परिष्कृत गर्न तथा आवश्यक विज्ञहरुको सेवा आदान-प्रदान गर्ने उद्देश्यले अष्ट्रेलिया र बेलायत स्थित नेपालिज टेक्निकल डायस्पोरा लगायत क्यानाडा, अमेरीका, चाईना र भारत स्थित अन्तराष्ट्रिय परामर्श सेवा प्रदायक कम्पनीहरुसँग
समझदारी पत्रमा हस्ताक्षर गरेको छ । १०. नेपाल पावर ट्रेडिङ्ग कम्पनी लिमिटेड:
देश भित्र तथा देश बाहिर विद्युत व्यापार गर्ने उद्देश्यले स्थापित यस कम्पनीको संचालनको व्यापारिक योजना कम्पनीको सञ्चालक समितिबाट स्वीकृत भइसकेको छ भने विद्युत व्यापारको लागि माग गरिएको अनुमतिपत्र ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा विचाराधिन रहेको परिप्रेक्षमा नयाँ विद्युत ऐन स्वीकृत भई कार्यान्वयनमा नजाउन्जेल सम्मको लागि अन्तरिम अनुमतिपत्र जारी हुन अनुरोध गरिएको छ। पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड: नेपाल र भारत बीच उच्च भोल्टेज प्रसारण लाइनको विकास गरी संयुक्त लाभ हासिल गर्ने उद्देश्यले स्थापित यस सहायक कम्पनीबाट हाल ढल्केवर मुजफ्फरपुर प्रसारण लाईनको नेपालतर्फको ४०० के.भि. लाइन सञ्चालन गरिरहेको छ।
________________________________________
निजी क्षेत्रको सहभागिता मुलुकको ऊर्जा क्षेत्रको विकास तथा विद्युत आपूर्ति व्यवस्थापनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहदै आएको छ । निजी क्षेत्रबाट उत्पादित विद्युत ऊर्जा प्राधिकरणले विद्युत खरिद सम्झौता गरी खरिद गर्ने गरेको छ । रन अफ रिभर, पिकिङ रन अफ रिभर तथा जलाशययुक्त गरी तीन प्रकारका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत ऊर्जाको खरिद दररेट तोकिएको छ । नेपालको जलविद्युत विकासमा प्रत्यक्ष बैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति अनुरुप २१६ मेगावाटको माथिल्लो त्रिशुली १ र १२० मेगावाटको रसुवा-भोटेकोशी जलविद्युत आयोजनासंग विद्युत खरिद सम्झौता सम्पन्न गरिएको छ। आ.व. २०७६।७७ मा ९७८.६७ मे.वा. क्षमताका निजी क्षेत्रबाट प्रवर्द्धन गर्न लागिएको विभिन्न २६ आयोजनाहरुको Grid Impact Study सम्पन्न गरिएको छ भने कुल ९९.१ एमभिए वरावरको लोड एकीकृत नेपालको विद्युत प्रणालीमा जोडिने ९ वटा उद्योगको समेत Grid Impact Study सम्पन्न गरिएको छ। आ.व. २०७६।७७ मा स्वतन्त्र विद्युत उत्पादनकर्ताहरुबाट प्रर्वद्धित १३५.३९ मेगावाट वरावरको १५ वटा नयाँ जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भई प्राधिकरणको प्रणालीमा जोडिएका छन्। यस संगै हालसम्म निजी क्षेत्रबाट प्रर्वद्धित तथा सम्पन्न भएको ९८ वटा आयोजनाको कुल जडित क्षमता ६९६.१७ मेगावाट पुगेको छ । त्यसैगरी निजी क्षेत्रबाट ३१५७१९ मेगावाट बराबरका कुल १३१ वटा आयोजनाहरु आर्थिक श्रोत सुनिश्चित भई निर्माणाधिन अवस्थामा रहेका छन् भने २१२४.७७ मेगावाटका ११२ वटा जलविद्युत आयोजनाहरु विकासको विभिन्न चरणमा रहेका छन् । आ.व. २०७६।७७ मा Viability Gap Funding (VGF) उपलब्ध गराउने गरी विद्युत बिक्री दरमा प्रतिस्पर्धा गराई छनौट गरिएको कुल ९ मेगावाटको २ सौर्य ऊर्जा उत्पादकहरुसंग विद्युत खरिद सम्झौतामा हस्ताक्षर गरिएको छ। यो संगै विद्युत खरिद सम्झौता गरिएको निजी क्षेत्रको विद्युत प्रर्वद्धकहरुको संख्या ३४१ र कुल जडित क्षमता ५९७८.१३ मेगावाट पुगेको छ। निजी क्षेत्रलाई जलविद्युत क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण निर्माण गर्न प्राधिकरणले सदैव रचनात्मक सहयोग गर्दै आएको छ । यसै अनुरुप रन अफ रिभर, पिकिङ रन अफ रिभर र स्टोरेजर /पम्प स्टोरेज प्रकृतिको जलविद्युत आयोजनाबाट लिउ वा तीर (Take or Pay) विधिमा विद्युत खरिद सम्झौता गरी खरिद गरिने विद्युत क्षमताको परिमाणको सिमा क्रमशः ५२५० मेगावाट, ४५०० मेगावाट र ५२५० मेगावाट कायम गरिएको छ । यसबाट जलविद्युत क्षेत्रमा वित्तिय संस्थाहरुलाई लगानी गर्न सकारात्मक वातावरण निर्माण हुने अपेक्षा गरिएएको छ । साथै प्राधिकरणले दैनिक उच्चतम माग व्यवस्थापनको लागि पिकीङ रन अफ रिभर प्रकृतिको आयोजनाको विद्युत खरिदलाई प्राथमिकता दिने नीति लिएको छ।
अन्तर्देशीय विद्युत व्यापार विगतका वर्षहरुदेखि नै भारतसंग अन्तर्देशीय विद्युत व्यापार हुँदै आएको छ। अगष्ट २०१८ मा नेपाल र भारत बीच पहिलो ढल्केवर-मुजफ्फरपुर ४०० के.भी. अन्तर्देशीय प्रसारण लाइन २२० के.भी. मा चार्ज गरी सञ्चालनमा ल्याईएको थियो । उक्त प्रसारण लाइनलाई ४०० के.भी. मा सञ्चालन गर्न ढल्केवर सवस्टेशनमा ४००/२०० के.भी., ३१५ एम.भी.ए क्षमताको ३ थान ट्रान्सफर्मर जडान गर्ने कार्य अगष्ट २०२० मा सम्पन्न हुँदैछ । विशेष सुरक्षा प्रणाली तथा सूचना प्रणाली जडान गरी नेपालको राष्ट्रिय प्रसारण ग्रिड र भारतको प्रसारण ग्रिड सिङ्क्रोनाइजेशन गर्ने कार्य अन्तिम चरणमा रहेको छ । नेपाल र भारतको ग्रीड सिक्रोनाइज भएपश्चात नेपालतर्फको प्रसारण ग्रिड थप मजबुत हुने छ। १४-१५ अक्टोबर २०१९ मा भारतको बैङ्गलोरमा सम्पन्न नेपाल भारत बीचको संयुक्त कार्यदल र संयुक्त निर्देशक समिति (Joint Working Group / Joint Steering Committee) को ७औं बैठकको निर्णयानुसार बुटवल-गोरखपुर ४०० के.भी. दोस्रो अन्तर्देशीय प्रसारण लाइन कार्यान्यनको ढाँचा (Implementation Modality) लाई अन्तिम रुप दिईएको छ । यस दोस्रो अन्तर्देशीय प्रसारण लाइनको निर्माण र कार्यान्वयनको लागि पावर ग्रीड कर्पोरेशन अफ ईण्डिया लिमिटेड र नेपाल विद्युत प्राधिकरण बीचको सहमतिमा शेयर होल्डर सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएकोले नेपाल सरकारको स्वीकृति लिई सो सम्झौतामा छिट्टै हस्ताक्षर हुनेछ । संयुक्त उपकमको कम्पनी खडा गरी प्रसारण लाईनको निर्माण आगामी ४ वर्षभित्र सम्पन्न गरिनेछ । यस बाहेक अन्य दुई लम्की-बरेली र दुहवी-पूर्णिया ४०० के.भी. अन्तर्देशीय प्रसारण लाइनहरुको विस्तृत अध्ययन कार्यमा दुबै देशका सयुक्त प्राविधिक टोली (Joint Technical Team) र सयुक्त सञ्चालक समिति (Joint Operation Committee) मा प्रतिनिधित्व गरी प्राधिकरणले महत्वपूर्ण भूभिका खेलेको छ। अत्पकालिन, मध्यकालिन र दिर्घकालिन विद्युत व्यापार लगायत Day Ahead Market र Term Ahead Market मा सहभागी भै सबै किसिमको अन्तर्देशिय विद्युत व्यापार गर्न नेपाल सरकारबाट प्राधिकरणलाई पूर्व स्वीकृति प्राप्त भएको छ । अब भारत सरकारको सम्वन्धित मन्त्रालयले व्यापार नियमहरुको आचरण (Conduct of Business Rules) जारी गरे पश्चात भारतको विनिमय बजारमार्फत विद्युत व्यापार गर्ने सम्वन्धमा भारतको विद्युत व्यापार गर्ने निकाय एनटीपीसी विद्युत व्यापार निगम (NVVN) र प्राधिकरणबीच सम्पन्न सम्झौता कार्यान्वयन गर्न सहज हुनेछ । NVVN सँग विद्युत विनिमयका अतिरिक्त समग्र सम्झौता गरि विद्युत खरिद तथा विक्रि कारोबारमा सहभागि हुने तयारीसमेत प्राधिकरणले गरिरहेको छ । समग्र सम्झौताअनुसार प्राधिकरणले नेपालमा उपभोग हुन नसक्ने अतिरिक्त ऊर्जा (Surplus Energy) बिक्रिको लागि NVVN संग छुट्टै सम्झौता गर्नुपर्नेछ । उपरोक्त सम्झौताका व्यवस्थाहरुले नेपाल र भारत बीचको अन्तर्देशिय विद्युत व्यापारमा नयाँ युगको शुरुवात भएको र यसबाट दुबै देशले मौजुदा प्रसारण क्षमताको उपभोग, प्रविधि हस्तान्तरण, प्रणाली सन्तुलन लयायतका विविध विषयमा प्रचुर फाईदा लिन सक्ने अवस्था सिर्जना भएको छ।
भारतको टनकपुर सवस्टेशनमा मौजुद २२०/१३२ के.भी., ५० एम.भी.ए. क्षमताको ट्रान्सफरमरलाई १०० एम.भी.ए. ले प्रतिस्थापन गरिएबाट यस मार्गबाट थप विद्युत व्यापार गर्न सकिने अवस्था सिर्जना भएको छ । यस सम्वन्धमा नेपाल विद्युत प्राधिकरण, पावर ग्रीड कर्पोरेशन अफ इण्डीया लिमिटेड र नेशनल हाईड्रोपावर कर्पोरेशन, भारत बीच सातौं संयुक्त कार्यदल र संयुक्त निर्देशक समितिको निर्णयानुसार छिट्टै त्रिपक्षिय सम्झौतामा हस्ताक्षर हुने भएको छ । आ.व. २०७६।७७ मा भारतसंगको विद्युत व्यापार उत्साहजनक रहको छ । अघिल्लो वर्षको २०७५/७६ को तुलनामा विद्युत आयात घटेको छ भने यो आर्थिक रुपान्तरणको लागि आवश्यक विद्युत ऊर्जामा नेपाल आत्मनिर्भर बन्दै गईरहेको बलियो आधार पनि हो । ढल्केवर-मुजफ्फरपुर लगायत अन्य प्रसारण लाइनमा गत वर्ष २०७६।७७ मा कुल १ अर्व ७२ करोड ९० लाख युनिट विद्युत भारतबाट आयात गरियो भने भारततर्फ अघिल्लो बर्ष भन्दा १८.६ % ले बढी अर्थात कुल १० करोड ७० लाख युनिट विद्युत निर्यात गरिएको छ। ऊर्जा क्षेत्र र विद्युत व्यापारमा सहकार्य गर्न नयाँ जलविद्युत आयोजनाहरुको निर्माण गर्ने विषयमा नेपाल-बङ्गलादेशसँग भैरहेको वार्तालाई आगामी वर्ष निरन्तरता दिइने छ। विद्युत व्यापारमा मित्र राष्ट्र चीनसंग समेत सहकार्य गर्ने नेपालको नीतिअनुरुप रातमाटे-रस्वागढीकेरुङ्ग ४०० के.भी. प्रसारण लाइनको सभाव्यता तथा बातावरणीय अध्ययनको लागि नेपाल सरकारबाट पर्याप्त बजेटको व्यवस्था भई काम भैरहेको छ। भाबी कार्यदिशाः आफ्ना उपभोक्ताहरुलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन नै प्राधिकरणको मुल उद्देश्य रहेको छ । स्वदेशमा उत्पादित विद्युत, भारतबाट आयात गरिएको विद्युत, माग व्यवस्थापन लगायत उपलब्ध श्रोतहरुलाई एकीकृत रुपमा परिचालन गरी लोडसेडिङ्ग अन्त्य गर्न सफल भएसंगै नेपाल विद्युत प्राधिकरण प्रति आम जनमानसको विश्वास बढेको छ । विद्युत उत्पादन तथा आपुर्तिमा नेपाल आत्मनिर्भर बन्ने दिर्घकालिन लक्ष्य प्राप्त गर्ने दिशातर्फ नेपाल अगाडि बढेको अवस्थाले हामीलाई हौसला प्राप्त भएको छ । कोभिड-१९ माहामारीको कारण संस्थाको दैनिक काम कारवाही तथा आयोजनाको निर्माण कार्यहरु प्रभावित हुँदा आगामी दिनमा केही चुनौतिहरु पनि देखिएका छन् । लामो समयदेखि चर्चाको विषय रहँदै आएको प्राधिकरणको संस्थागत पर्नसंरचना सम्वन्धी विषयलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ लाई आवश्यक संशोधन गरी प्राथमिकताका साथ संबोधन गरिनेछ । पर्नसंरचनाको प्रारम्भिक ढाँचासहित प्राधिकरणको संस्थागत विकास योजना-२०७६ प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत भैसकेको छ । प्राधिकरणको दीर्घकालिन लक्ष्य हासिल गर्नका लागि समग्र कामकार्बाहीहरु एकिकृत र व्यवस्थितरुपमा सञ्चालन गर्ने उद्देश्यले तयार पारेको यो संस्थागत विकास योजना (Corporate Development Plan) मा तोकिएका लक्ष्यहरु पूरा गर्न प्राधिकरण व्यवस्थापन निरन्तर लाग्ने छ। प्राधिकरणसंग सरोकार राख्ने संघ संस्थाहरु र कर्मचारीहरुसंगको वार्ता तथा सहमतिमा सबै सरोकारवाला तथा कर्मचारी वर्गले अपनत्व लिने गरी संस्थागत पर्नसंरचना गरिने छ । संस्थागत पर्नसंरचनामा कर्मचारीहरुको सेवा, सुरक्षा, सुविधा, बृद्धि विकास, पेन्सन, उपदान आदिको समेत सुनिचितता हुनुपर्ने विषयमा हामी सचेत एवं गम्भीर छौ । प्राधिकरणका समग्र काम कार्बाहीहरु स्वचालित र डिजिटल (Automation and Digital) बनाउने दिशामा हामी अग्रसर हुनेछौं । विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापन स्वचालित प्रणालीबाट गरी सञ्चालन लागत घटाई हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न हाम्रो कागजमा आधारित कार्यपद्दतिलाई विस्थापित गरी डिजिटाइजेशन (Digitization) गर्न पनि हामी उत्तिकै प्रयासरत छौं । यसको लागि तत्काल केही आवश्यक नीतिगत निर्णयहरु गर्नुपर्ने महशुस हामीले गरेका छौं । डिजिटाइजेसनबाट डिजिटलाईजेसनतर्फको हाम्रो यात्राले कार्यक्षमता, पारदर्शिता, सेवा प्रबाह व्यवस्थापन, लागत कटौती र सेवाग्राहीले प्राप्त गर्ने सेवा सुविधामा समेत उल्लेख्य सुधार हुने विश्वास लिएका छौं । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनासहित करिव १३०० मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु आ.व. २०७७७८ मा निर्माण सम्पन्न भई सञ्चालनमा आउने हँदा प्राधिकरणको आर्थिक अबस्थालाई प्रतिकुल प्रभाव पर्न नदिन उत्पादित विद्युत विक्रिको लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ । उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत अन्तर्देशीय बजारमा बिक्रि गर्न बजारको अध्ययन एवं विस्तार गरिने छ । स्वदेशमै विद्युत खपत बृद्धि गर्न सके उत्पादित विद्युतको उपयोग मात्र हुने नभै देशको आर्थिक र सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने भएकोले विद्युत खपत बृद्धिको लागि जनचेतना अभिवृद्धिका साथै अन्य विभिन्न उपायहरु अवलम्बन गरिने छ । स्वदेशमा विद्युतको खपत बृद्धि गर्न सवारी साधन चार्जिङ्ग स्टेशनहरुको निर्माण गरी विद्युतिय सवारी साधनको प्रबर्द्धन गर्ने, लिफ्ट इरिगेशन (Lift Irrigation) लाई बढावा दिने र खाना पकाउने ग्यासलाई विद्युतीय चलोले प्रतिस्थापन गर्ने गरी यस बर्षलाई विद्युत खपत बृद्धिको बर्षको रुपमा घोषणा गरी विविध कार्यक्रमहरु सञ्चालन गरिने छ । यसको लागि “विद्युत खपत बढाऔं, इन्धनको परनिर्भरता घटाऔं’ भन्ने सन्देश सहित प्रचार प्रसार गरिने छ । बढ्दो विद्युत माग पूर्ति गर्न पूर्वाधार विस्तार एवं सुदृढीकरण कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ । नेपाल र भारतवीच विद्युत आदान प्रदानको लागि थप प्रसारण लाइनहरु चरणबद्ध रुपमा निर्माण गरिने छ। ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट जारी श्वेत पत्र-२०७५ मा ऊर्जा क्षेत्रको आगामी दशकको मार्ग चित्र स्पष्ट कोरिएको छ । यसलाई मुल दस्तावेज मानी ऊर्जा क्षेत्रको विकासका लागि प्राधिकरणले भावी क्रियाकलापहरु अगाडी बढाउने छ।
प्राधिकरणले अहिलेसम्म प्राप्त गरेका उपलब्धि शुरुवात मात्र भएको र यसको जगमा टेकेर अघि बढ्दै समृद्धिका लागि सरकारले लिएको मार्गमा सहयोगी र भरपर्दो माध्यम बन्ने प्रण गरेको छ । प्राधिकरणले आगामी वर्षहरुमा पनि खर्च कटौती गर्ने-आम्दानी बढाउने, चहावट घटाउने-खपत बढाउने, उत्पादन बढाउने-महशुल घटाउने, आयात घटाउन-निर्यात बढाउने छ । संस्थाभित्रको आर्थिक पारदर्शीता, जवाफदेहिता र सुशासनलाई कठोरताका साथ लागू गरिने छ । नियमित, भरपर्दो, गुणस्तरिय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन अहोरात्र खट्ने प्रतिबद्धतासहित नेपाल विद्युत प्राधिकरण उज्यालो नेपालको सम्वाहकको रुपमा निरन्तर खटिरहने छ। हाम्रो हरेक प्रयास अझ राम्रो र सक्षम नेपाल विद्युत प्राधिकरणको निर्माणमा केन्द्रीत हुनेछ। आभार नेपाल विद्युत प्राधिकरणलाई हरदम सहि दिशानिर्देश गरी सफल संस्थाको रुपमा विकास गर्न बहुआयामिक, गतिशिल एवम् सक्रिय नेतृत्व प्रदान गर्नुहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् प्राधिकरण संचालक समितिका अध्यक्ष माननीय श्री वर्षमान पुन ‘अनन्त’ ज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। प्राधिकरणलाई निरन्तर मार्गनिर्देश गरी तोकिएका लक्ष्यहरु प्राप्त गर्न सहयोग गर्नु हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री दिनेशकुमार घिमिरेज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु। संस्थाको कार्यकुशलता र प्रभावकारीता अभिवृद्धि गरी समयसापेक्ष नीतिगत निर्णय गर्न र प्रभावकारीरुपमा सेवा सञ्चालन गर्नसमेत अमूल्य सहयोग र सुझावका साथै महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्राधिकरण सञ्चालक समितिका सदस्यज्यूहरु प्रति आभार व्यक्त गर्दछु । ऊर्जा क्षेत्रको विकासका लागि संरक्षकत्व प्रदान गर्दै निरन्तररुपमा आवश्यक सहयोग र समन्वय प्रदान गर्ने नेपाल सरकार, प्रदेश सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयहरु राष्ट्रिय योजना आयोग एवम् सम्बद्ध सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । हाम्रा नियमित काम कारबाहीहरुलाई अनुगमन, पुनरावलोकन र समर्थन गरी सहयोग गर्नुहुने संसदीय समितिहरु, संबैधानिक निकायहरु र विद्युत नियमन आयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। प्राधिकरणको क्षमता अभिवृद्धि र संस्थाबाट सञ्चालित विकास निर्माणमा निरन्तर सहयोग पुऱ्याउन हने सबै अन्तराष्ट्रिय विकास साझेदारहरुलाई धन्यवाद दिन चाहन्छु ।
प्राधिकरणका विभिन्न काम कारबाहीहरुमा संलग्न भई सहयोग गर्नुहुने महालेखा परीक्षक, स्थानीय तह, सार्वजनिक निकायहरु, बैंक तथा वित्तिय संस्था, प्रवर्द्धक, परामर्शदाता, निर्माण व्यावसायी तथा आपूर्तिकर्ता समेतलाई धन्यवाद दिन चाहन्छु । प्राधिकरणका नियमित काम कारबाहीहरुको यथार्थ सूचना संप्रेषण गरी सहयोग पुयाउनु हुने सञ्चार गृह तथा पत्रकार मित्रहरुमा विशेष धन्यवाद दिन चाहन्छ । कोभिड-१९ संक्रमणको जोखिमलगायत जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक प्राधिकरणका हरेक कार्यहरुमा एकताबद्ध भई संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि समर्पित सम्पूर्ण कर्मचारीहरु एवम् आधिकारिक तथा क्रियाशिल ट्रेड युनियनहरुलाई धन्यवाद दिन चाहन्छु । कठिन परिस्थितीमासमेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तररुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आम जनता, उपभोक्ता एवम् विभिन्न व्यावसायिक संस्थाहरुप्रति विशेष आभार प्रकट गर्दै आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भब प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्दछु । अन्त्यमा, नेपाल विद्युत प्राधिकरणको कार्यसम्पादन र उपलब्धिमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नुहुने सबैप्रति पुनः एकपटक हार्दिक आभार व्यक्त गर्दै सबैको निरन्तर सहयोग र समर्थनबाट प्राधिकरणले उज्यालो नेपालको संवाहकको रुपमा नेपालको उर्जा बिकासका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नमा उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास ब्यक्त गर्दछु ।
धन्यवाद !
कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण

Facebook Comments