logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Wednesday, October 28, 2020 )

प्लेकार्ड

कविता

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार

एक समय थियो
मेरो प्रिय रंग रातो
रातो रंग भित्र
आफै हराउन मन लाग्थ्यो
मलाई थाहा थियो
क्रान्तिको रंग रातो नै हो
म भित्र उम्लिरहेको रगत पनि
रातो नै छ
त्यसैले रातो झन्डा खुब मन पर्थ्यो
रातो झन्डा बोकेर
चोक चोक कुद्थे
गल्ली गल्लि दगुर्थे
धेरै क्रान्तिकारी भएर हिडे
चोकमा उभिरहे
रातो समयहरुमा
तर अचेल
समय बदलिएको छ
मलाई घृणा लाग्छ
रातो रंगहरु देखि
बिश्वास हराएको छ
आपनै रगतको
मलाई लाग्छ
रगत बग्नु भनेको
अपमानित हुनु हो
मान्छेहरु
मेरो रगतमा जात खोज्छ्न
मलाई लाग्दैन
मेरो रगत फरक छ
उस्को भन्दा
उस्को छातीमा गोली लाग्दा
बगेको थियो रातो रगत
मेरो पाखुरामा गोली लाग्दा पनि
बगेको थियो रातै रगत
म सोच्छु
किन बनाएनन मान्छेहरुले रातो जात ?
म भन्नै सक्दिन
म भित्र कुन जात छ भनेर
तिमी मलाई खोज्न
गल्लिमा आउ
चोकमा आउ
म केही अक्षरहरु बोकेर
उभिरहेको हुनेछु
चोकहरुमा ।
म प्लेकार्ड बोकेर
देश खोजिरहेकोछु
प्लेकार्डमा लेखिएको छ
निर्मलालाई न्याय दे
सम्झनाको हत्यारालाई फासी दे
भ्रष्टाचार बन्द गर
शुशासन कयाम गर
कुलमान घिसिन देशको उज्यालो
गोबिन्द के सि लाई हाम्रो साथ
यस्तै यस्तै………!

Facebook Comments

Advertisement
Top