लक्ष्मी जयन्ती

कविता

फूलै-फूल जता-ततै मखमली थुँगे फुलेका थिए
जाईका मुजुरा झपक्कछ कतै चाँगे झुलेका थिए
गाई गोठ जहाँ थिए निशि दियो बल्दै गरेका अनि
नाच्थे आँगनमा घुमेर भगिनी हा राम भैलो भनी ।।१।।
             खेल्थे साँझ थियो प्रमोदित हुँदै माता प्रभाका सरी
             भिक्षाको अभिप्रायका वचनमा सद्भावनाले भरि
            आशीर्वाद निको हुँदा दिल खुसी माता पिताको थियो
            आयौ माधवजी थियौ सरस्वती साहित्यका नै दियो ।।२।।
तिम्रा आज सबै सुरम्य महिमा लेखिन्न चाहे जति
भोग्यौ कष्ट ठुलो तथापि गुनिलो झन् झन् वढायौ गति
भन्थे माधवका शिरोमणिसँगै बस्थे पिताजी पनि
लेखिन्थ्यो कविता सधैँ दिन -दिनै कण्ठाग्र पार्थ्यौ भनी ।।३।।
          पढ्थ्यौ कौमुदिका किताब रसिला शास्त्रार्थका ज्ञानले
          भेटिन्थो गुनिलो निको रस नयाँ राखेर सम्मानले
          नेपाली जगका सुरम्य दिलका लक्ष्मी थियौ माधव
          सारा राष्ट्रभिज्यो जित्यो किरणले साहित्यको वैभव ।।४।।
तिम्रा काव्य छटा थिए गहकिला संसारले पढ्दछन्
भाषा दिव्य मिठा टिपेर कविले अभ्यस्त भै बढ्दछन्
मीठो गीत मुना सुरम्य दिलको संसारले गाउँदा
खुल्छन् देह सदा-सदा हृदयमा यो फूल टक्रयाउँदा ।।५।।
           दोश्रो चाड निको मनाउँ सबले द्यौसी र भैलो गरी
           मालाले लु भरौँ गला मखमली थुंगे र गोदावरी
           रङ्गी फूल थुँगा उँनेर भगिनी माला लिदै आउँदा
           भ्राताका दिलमा हुने मधुरता माला टिको लाउँदा ।।६।।
                                                    छन्द-शार्दूलविक्रीडित
Facebook Comments