प्राधिकरणका दुई पूर्व संचालकको घरमा वत्ति जाँदा

प्रायोजित रुपमा लोडसेडिङको प्रचार

प्राधिकरणको उत्पादन ५०७ मेगावाट, निजी क्षेत्रको ३०५ मेगावाट र भारतबाट ५१५ मेगावाट गरी कुल १३२७ मेगावाट विद्युत दैनिक उपलब्ध भएको तथा पिक आवरमा जम्मा १३५२ मेवा देखिएको अवस्था छ । आधारभूत रुपमा ७३० मेगावाट मात्र देखिन्छ भने काठमाडौंमा पिक आवरमा ३७७, र अन्य समयमा ११९ मेवा मात्र देखिएको छ । प्राधिकरणको  यो आँकडाले लोडसेडिङको अवस्था दर्शाउँदैन । यो तथ्य हो । यो तथ्य सर्वसाधारणसम्म पुग्दैन र पुगेपनि बुझ्न सक्ने कुरा भएन ।
प्राधिकरणको प्रसारण लाइन, पोलहरु, ट्रान्सफर्मर लगायतका ग्राहकसम्म पुग्ने पुराना र जिर्ण भइसकेका संरचना एवं विगतमा प्रसारण लाइन र ग्रीड निर्माणमा कुनैपनि परिणाममुखी काम सम्पन्न नहुनु नै अहिलेको लोड लिन नसकेको अवस्था हो । तर, यो तितो यर्थाथलाई एकातिर पन्छाएर सरकारको ढाडको हड्डि यहाँ नेर कमजोर छ, थप यही दनक दिनुपर्छ भन्ने समाजका अगुवा, पूर्व प्रशासक र केही व्यक्तिहरुले यहीनेर हिर्काउदा जनताले ताली पिट्छन् भन्ने मनशायले लोडसेडिङको नामबाट चर्चा कमाउन खोजेको प्रष्ट देखिन्छ । सरकारसँग राजनीतिक वा अन्य कुरासँग असहमति असन्तुष्टि हुन सक्छ तर तथ्य र वास्तविकतालाई मोडेर जनताको करबाट तलब, भत्ता, पेन्सन बुझ्नेहरुले ठाडो मुख पारेर थुक्ने काम गरेको देख्दा लाज लाग्छ ।
स्थायी सरकार मानिएको कर्मचारीतन्त्रको उच्च पदमा बसेका व्यक्तिले सामाजिक संजालमा हल्का टिप्पणी गरेर लोकप्रिय हुन खोज्नु वा समाजमा गलत संदेशलाई प्रवाह गर्नुले प्रश्न खडा भएको हो । सचिव विशिष्ट श्रेणीको पद हो । सोही पदमा पाँच वर्ष देश संचालनमा योगदान दिएको व्यक्तिले सामाजिक संचालमा उठाएको हल्का टिप्पणीले हिजोको दिनमा कस्तो कार्य सम्पादन भए गरेका थिए भन्ने अन्दाज समकालिन व्यक्तिलाई पक्कै हुनु पर्छ ।
पूर्व अर्थ सचिव रामेश्वर खनालले डिसेम्बर २७ साँझ ७.२४ बजे ‘लोडसेडिङ व्यूँताउन सक्नु पनि यो सरकारको सफलता नै गन्नी त होला !’ भन्दै आफ्नो ट्वीटरमा लेख्नु भएको छ । अर्का पूर्व अर्थ सचिव शान्तराज सुवेदीले २८ डिसेम्बर साँझ ७.३९ बजे आजभोलि पटक पटक लाइन जान थालेको छ, आज पुस १३ गते त खपि नसक्नु भयो । साँझ ५ बजेपछि नै कयौ पटक गयो । अहिले १९.३० को समयमा पनि वत्ति गायव छ । के प्रणालीमा खराबी आएको हो ? सर्वसाधारणले विश्वास गर्न छोडे है ‘@Hello NEA ? भनी पोस्ट गर्नु भएको छ । दुबै जनाको ट्वीटले के देखाउँछ भने वत्ति गयो सरकारलाई टुच्च हानौ न त । तर यो टुच्चले लोडसेडिङको प्रायोजित प्रचार गर्न ठूलो मद्दत पुर्यायो र सचिवद्वयलाई महान ।
दुबै पूर्व अर्थ सचिवहरु नेपाल विद्युत प्राधिकरणको संचालक समितिको समेत पूर्व सदस्य हुनुहुन्छ । प्रश्न यहाँ नेर के उठ्छ भने संचालक समितिको सदस्य र त्यो भन्दा महत्वपूर्ण अर्थ सचिवको कर्तव्य पूरा गर्दा विद्युत प्रसारण लाइनको संरचनालाई दिगो र भरपर्दो बनाउन उहाँहरुको योगदान कति छ ?
विद्युत आयोजना सम्पन्न गर्न तथा प्रसारण लाइन, ग्रीड, सवस्टेशन र घरसम्म पुर्याउने संरचना निर्माणमा नेपाल सरकारका अर्थ, ऊर्जा, वन, भूमिसुधार, रक्षा मन्त्रालयसमेतको प्रत्यक्ष भूमिका हुन्छ । अझ अर्थ मन्त्रालयले त रकमको जोहो गर्दिने महत्वपूर्ण भूमिका रहन्छ, त्यसै भएकोले पनि होला प्राधिकरण संचालक समिति सदस्य पदेन रुपमा अर्थ सचिव रहेको हुन्छ । आजको दिनमा उत्पादन र माग (भारतबाट ल्याएको भएपनि) नपुग्ने छैन । बरु प्रसारण लाइनको कमजोर अवस्थाले उत्पादित विद्युत धान्न नसकेर खेर गएको छ । सचिवहरुले नै स्वीकृत दिएर विद्युत उत्पादनमा लागेका प्रवर्द्धक प्रसारण लाइनको कमजोरीका कारण विद्युत खेर गएर रगतको आँसु चुहाउन बाध्यछन् । जानेर वा नजानेर प्रत्यक्ष वा परोक्ष सो कर्मको भागिदारमा तपाइँहरुको पनि संलग्नता रहेको पक्कै होला ? तसर्थ हिजो आफूले गरेको कामको अलिकता ग्लानी त हुनु पर्ने हो । संरचना निर्माणको क्रममा जग्गा अधिग्रहणको मुआब्जा दिने, निर्माण सामग्री ल्याउदा भन्सारमा अड्काउने लगायतका खोचे दाउ हान्ने अर्थ मन्त्रालयले हो भने गुनासो प्रसस्त छ । आफ्नो पालामा के भयो ?आफ्ना मातहतका कर्मचारीले गरेको जस अपजसको दायित्व लिनु पर्छ कि पर्दैन ? प्रश्न यो आउँछ । प्रसारण लाइन, पोलहरु, ट्रान्सफर्मर तारहरुलगायतमा समस्या आउदा वत्ति जान्छ यसकाे मतलव वत्ति अनन्त कालसम्म जान्छ । जवसम्म यी संरचनाहरुमा समस्या आइरहन्छ । त्यस कारण वत्तिजानु भनेकाे लोडसेडिङ हाेइन ।

त्यस्तै एक समाचारमा निर्वतमान एमडी कुलमान घिसिङले व्यवस्थापनको कमजोरीले वत्ति गएको आशयको अभिव्यक्ति दिनु भएको देखियो । हिजोका दिनमा उहाँले पूर्व एमडी मुकेशराज काफ्लेलाई दोष दिनुहुन्थ्यो । त्यस्तै काफ्लेले अगाडिका एमडी रामेश्वरलाई, रामेश्वरले जिवेन्द्रलाई, जिवेन्द्रले अर्जुनलाई गर्दै क्रमशः कमजोर सावित गर्ने गुल्चे खेल खेल्दै जानेहो भने असल त कोही प्रमाणित हुन्न । विगतको चार वर्षमा ट्रान्सिमिसनलाइन, ग्रीड र अन्य संरचनामा कुनै सुधार नभएको कुरा हाल वत्ति जानुले प्रमाणित गरेन र ? अर्काले बनाइ दिएको संरचनामा भारतबाट ल्याएको विजुली थपेर दिन जति सजिलो थियाे आज त्यस्ताे छैन । यो वास्तविकता हो प्राधिकरणले नै अहिले आएर १ वर्ष अगाडि पनि आधा आधा घण्टा ट्रान्सफरमर अफ गरेर प्रायोजित रुपमा लोड सेडिङको प्रचारकाटिन्थ्यो भन्न थालेको छ । बुढापाकाले अर्कालाई चाेर औला देखाउदा आफूलाई अरु बाँकी औलाले देखाइरहेको हुन्छ भन्थे । यसको अर्थ अझै उस्तै छ ।

              प्राधिकरणले  आज जारी गरेकाे विज्ञप्ति यस प्रकार छ ।

Facebook Comments