नेपाली प्रविधि, नेपाली लगानी र नेपाली इन्जिनियरको मुख्य भूमिका र सस्तो आयोजनाको परिचय दिदै सुरु भएको चिलिमे जल विद्युत आयोजना हाल आएर भ्रष्टाचारको केन्द्र बन्दै गएको कुरा चिलिमेका शुभ चिन्तकले बताउन थालेकाछन् ।
यसरी चिलिमेको तर्फबाट सिइयो सुवास मिश्र, लेखा तथा कम्पनी सचिव नारायण आचार्य, प्लान्ट मेनेजर मनिष विष्ट, इलेक्ट्रिकल इन्जार्ज सुवर्ण कुँवर र भारतीय ठेकेदार कम्पनी मिलेर पैसा बाँडफाँड गरेका हुन । दुबै टर्बाइनमा भित्र बाट ४.५ मेगावाट लोड दिने बित्तिकै असामान्य आवाजको समस्या आइरहेको छ । तैपनि जबर्जस्ती ठिक छ भनेर देखाउन मात्रै युनिट २ लाई ९ मेगावाटमा चलाइरहेका जानकार बताउँछन् । यसलाई कमिसनका लागि चिलिमे र भारतीय कम्पनी मिलेर सबै ठिक छ भन्दै चेक साट्ने काम भएको सुत्रले बताएको छ ।
प्राविधिक समस्या र जोखिम हुँदाहुँदै ६ करोडको मर्मतकाे ठेक्का पाएका भारतीय ठेकेदारसँग मिलि १० प्रतिशतले हुने ६० लाख रकम बुझेर १० गते राती १० बजे भारतीय ठेकेदार र चिलिमेका सिइयो टीम हाँसी खुसी विदा भएको सुत्रको दावी छ । चिलिमेले ठेकेदारलाई दिने ६ कराेडकाे चेक सुवासले दिएकाे र ठेकेदार कम्पनीले १० प्रतिशतले हुने ६० लाखकाे चेक दिएर चेक साटासाट भएकाे हाे । यस बारेमा जानकारी लिन खोज्दा सिइयो सुवासको फोन उठेन ।
चिलिमे पावर हाउसको मर्मतमा गम्भीर लापरवाही भएकाे कुरा जलस्राेत डटकमले उठाउदै आएकाे छ ।२२ मेगावाटको चिलिमे जलविद्युत केन्द्र विगत १५ दिन देखि पूर्ण रुपमा बन्द गरी मर्मत संभार गरिएकाे थियाे । करिब ६ करोडमा भारतको NELUMBO कम्पनीलाई उक्त मर्मतको ठेक्का दिइएको हो । चिलिमे कम्पनी इलेक्ट्रोमेकानिकल सम्बन्धी उपकरण जर्मन प्रविधिमा आधारित छ । उक्त मर्मत कार्यपनि जर्मन कम्पनीबाट गराउनु पर्नेमा दीर्घकालिन असर पर्ने गरी भारतीय कम्पनीको छनोट गरी मर्मत कार्य सुरु भएको थियाे । यस क्षेत्रमा उक्त भारतीय दक्ष मानिदैन । यसरी मर्मत संभार सुरु भएपछि जर्मन कम्पनीले भविष्यमा कुनै समस्या आयो भने आफु जिम्मेवार नहुने भनी चेतावनी समेत दिएको छ । भविष्यमा पूरै संरचना भारतीय कम्पनीलाई एकलौटी रुपमा दिने उद्देश्यले यो प्रपञ्च गरिएको हो । यसले चिलिमे ध्वस्त बनाउने कुरामा दुईमत रहेन । जसकाे उदाहरण १० गतेकाे भ्रष्टचारले देखाएकाे छ ।
केही दिन अगाडि प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्यले चिलिमकाे पावर हाउस निरिक्षण गरेर फर्किएका थिए । प्राविधिक रुपमा यति ठूलाे जाेखिम युक्त काममा हेलचेक्राइ र भ्रष्टचारबारे छानविन टाेली गठन गरेर छानविन गर्नुपर्ने प्राधिकरणकाे भनाइ छ ।
“चिलिमेमा १० वजे राती रू. ६० लाखको भ्रष्टाचार” सम्बन्धी समाचारको खण्डन
ठेकेदार कम्पनी हाइड्रो म्यागस प्रा.लि., भारत र यस कम्पनीका कर्मचारीहरूको मिलिमोतोमा “चिलिमेमा १० वजे राती रू. ६० लाखको भ्रष्टाचार” भनी मिति २०७७ चैत्र १२ गते, विहिवारको यस जलस्रोत डट कम (अनलाइन) मा समाचार प्रकाशित भएकोमा सो बिषयमा थप सत्य तथ्य बुझ्ने क्रममा चिलिमे जलविद्युत कम्पनी लि. अन्तर्गत सञ्चालित चिलिमे जलविद्युत केन्द्र (विद्युतगृह) मा जडित उपकरणहरूका विभिन्न सिष्टमहरूको अद्यावधिक (सुदृढिकरण) गर्न अत्यावशयक भएअनुसार उक्त कम्पनीको सञ्चालक समितिको निर्णयानुसार खुल्ला प्रतिस्पर्धात्मक वोलपत्र आह्रवान गरी तोकिएका मापदण्डहरूको आधारमा छानिएको ठेकेदारबाट तोकिएको समय, गुणस्तर र लागतमा कार्य सम्पन्न भएको र त्यसमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचार नभएको स्पष्ट हुन आएको छ । मिति २०७७ चैत्र १२ गते, विहिवारको जलस्रोत डट कम (अनलाइन) मा प्रकाशित समाचारमा सत्यता नभेटिएको र पावर प्लान्टको परीक्षण सञ्चालन सफल भएको कुरा सम्बन्धित प्राविधिकबाट जानकारी हुन आएकोले उक्त समाचार संकलनको प्रकृयामा त्रुटीका कारण उक्त समाचार प्रकाशन हुन गएको व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीका लागि भुल सुधार सहित अनुरोध छ । हाल उक्त पावर प्लान्ट राम्रोसँग सञ्चालन भएको र कुनै समस्या नभएको कुरा चिलिमे कम्पनीबाट पठाइएकाे इमेल यस जलस्रोत डट कमलाई प्राप्त भएकाे र यस समाचारबाट चिलिमे जलविद्युत कम्पनी परिवारमा पर्न गएकाे असुविधा प्रति हामी क्षमाप्रार्थी छाै ।