संवाद


आमा जन्म दियौ तिमी हृदयमा बस्छ्यौ सधैं प्राण भै
सारा देह भरिन्छ रक्त पसिना आमा म कस्तो छु खै !
छोरा एक तिमी भनेर खुसी भै माया मलाई दियौ
आधा चन्द्र हुँदैछ पूर्ण वयको आफू त पूर्णै थियौ ।।१।।

आमा
टाढा दूर कुनै छ यात्रु पर त्यो आयो कि छोरो पनि
राख्ने ध्यान गरेर प्रेम रसको होला कि भोको भनी
धौतामा मन दिन्छ खै ! मनुजले आमा घरैमा थियौ
जस्तै दुख्ख परोस् छ हाँसिरहने आमा तिमी के थियौ ? ।।२।।


आलो रक्त गयो र त्यो प्रसवको पीडा भुलेको पल
काँडाका बिचबाट शान्त मनको रातो गुलाबै फल
कस्तो प्रेम दियाैँ भनौं महलको सारा घरैमा थियो
थोपा तेल रहेन बल्छ कसरी, आमा पुरानो दियो ? ।।३।।

आमा
सारा दुख्ख म थाप्छु देउ भगवान् छोरो खुसीले रमोस्
शान्तै भाव म दिन्छु त्यो मनभरी कैल्यै दुखी त्यो नहोस्
सारा आशिष दिन्छु जीवन बनोस् त्यो फूल झैं सुन्दर
साँच्चै शान्त रहोस् यो हृदयको प्यारो छ मेरो घर ।।४।।


सारा सृष्टि तिमी म ता बगरको ढुंगो उसै बालुवा
हाँगा पात तिमी म ता शिशिरको सानो न हूँ पालुवा
औँला हात समाउँदै नजरका संकेत बुझ्दै बढें
आँखा ज्ञान सबैसबै विषयका शास्त्रास्त तिम्रो पढें ।५।।

आमा
आमाको तनबाट पुत्र पहिलो जन्मिन्छ त्यो सार हो
धारा नौ तनबाट बाँडिरहने जो ता स्वयंम् पार भोे
चिन्ता कत्ति नमान प्यार भरिको अर्ती तिमीमा छ यो
सारा देन छ ईशको यदि भने मेराे त माया न हो ।।५।।

Facebook Comments