तनहुँ जलविद्युत् आयोजना प्रसारण लाइनको जग्गा अधिग्रहण

एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फको जग्गा अधिग्रहणको काम अगाडि बढाएको हो ।

प्रसारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि २३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरी मुआब्जा वितरणको प्रक्रिया शुरु भएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । जग्गा अधिग्रहण बापत आयोजनाले रु एक करोड ३१ लाख ३४ हजार पाँच सय १० मुआब्जा वितरण गर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मुआब्जा निर्धारण समितिले जग्गा साथै जग्गामा रहेका रुखबिरुवा, फलफूल तथा नोक्सान भएको बालीनालीको क्षतिपूर्ति रकम लिन आउन सूचना जारी गरेको छ । मुआब्जा निर्धारण समितिको गत पुस १९ गते बसेको बैठकले मुआब्जा तथा क्षतिपूर्ति रकम बुझ्न आवश्यक कागजातसहित प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण उपसमितिले चलनचल्तीको मूल्य, मालपोतको दर, स्थानीय तहले मूल्याङ्कन गर्ने आधार, बैङ्कले मूल्याङ्कन गर्ने आधारलाई प्राथमिकतामा राखेर मुआब्जा निर्धारण समितिलाई सिफारिस गरेको थियो । साथै जग्गाभित्र पर्ने फलफूल, बालीनालीको क्षतिपूर्तिका लागि कृषि ज्ञान केन्द्र र रुखबिरुवाको क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालयले मूल्याङ्कन गरेका थिए ।

जोखिमयुक्त परिवार अन्तर्गत आदिवासी, जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिलाई अलग्गै रकम वितरण गरिनेछ । त्यस्तै जग्गा अधिग्रहणका क्रममा जग्गाभित्र पर्ने पाटी, चौतारालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।

मुआब्जा वितरणका लागि न्यूनतम प्रतिरोपनी रु एक लाख ७० हजार र बढीमा रु प्रतिरोपनी २४ लाख निर्धारण गरिएको छ । “जग्गाको प्रकृति हेरी मुआब्जा रकम निर्धारण भएको छ, कहीँकतै प्रतिरोपनी रु तीन लाख ८० हजार पनि कायम भएको छ,” आयोजना प्रमुख घिमिरेले भन्नुभयो ।

प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ । “मुआब्जा रकम लिन आउन सूचना जारी भइसकेको छ, सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित प्रशासन कार्यालयमा सम्पर्क गर्न सक्नेछन्,” घिमिरेले भन्नुभयो ।

मुआब्जा रकम लिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपत्रको सक्कल प्रति, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद, बैङ्कको खाता नम्बर, मृत्यु, बेपत्ता, पूर्ण अशक्ततालगायतका असामान्य कारणले गर्दा सम्बन्धित जग्गाधनी स्वयं उपस्थित हुन नसकेमा सोको प्रमाण र जग्गाधनीसँगको नाता प्रमाणितसहित नजिकको हकवालाले सम्बन्धित वडा कार्यालयको निजलाई नै मुआब्जा तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने भन्ने व्यहोराको सिफारिसपत्र ल्याउनुपर्नेछ ।

प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ

पहिलो प्याकेज छिट्टै शुरु

आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माणलगायतको पहिलो प्याकेजको काम छिट्टै शुरु गरिने भएको छ । पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि सम्झौता भएसँगै निर्माण कम्पनीलाई आयोजनास्थलमा खटाउने तयारी गरिएको छ ।

पहिलो प्याकेज निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूतरुपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रलि नेपाल जेभीबीच सम्झौता भइसकेको छ । कम्पनीसँग रु १६ अर्ब ६२ करोड (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा खरिद सम्झौता भएको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूतरुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एसियाली विकास बैङ्कको खरिद निर्देशिका अनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

आयोजना प्रमुख घिमिरेले कम्पनीका प्रतिनिधि नेपाल आइसकेको र उनीहरुसँग वार्ता भएपछि काम शुरु हुने जानकारी दिनुभयो । “कम्पनीका प्रतिनिधि नेपाल आइपुगेका छन्, उनीहरुसँग एक चरणको वार्ता भएपछि आयोजनास्थलमा परिचालन गर्ने तयारी छ,” घिमिरेले भन्नुभयो । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत्गृह खन्ने कार्यको अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माणकार्य गरिरहेको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Facebook Comments