टेपवर्म जुका

लघु कथा

सुदुर पूर्व गाऊँमा जन्मिएको ऊ दश बर्षको थियो। घरमा बुबा आमा दाजु भाइ दिदी बहिनी थिए। एक दिन ऊ अचानक बेहोस भएर ढल्यो । नजिकमा अस्पताल थिएन । उसलाई स्थानीय बिजुवाकोमा लगे बुबाले । बिजुवाले नाडी छाम्यो । चामल जोर बिजोर खेलेर जोखाना हेर्यो । अनि बनको देउ लागेकोले कालो भाले मन्साउनु पर्ने भन्यो ।र भन्यो बनको देउ लागेको मान्छेलाई अस्पताल लान हुँदैन । सुई लगाउन हुँदैन। नत्र देउले कुँज्याउँछ। ऊ थुप्रै पटक यसरी नै बेहोस भएर ढलिरह्यो । र बिजुवाले कालो भाले मन्साइ रह्यो । ठुलो भए पछि पनि ऊ न आफै अस्पताल गयो न कसैले जान सल्लाह दिए ।
धेरै वर्ष पछाडि ऊ गाऊँ छोडेर शहरमा बसाई सर्यो । ऊ शहरमा पनि एक दिन उसैगरी बेहोस भएर ढल्यो । त्यहाँ बिजुवा थिएन । त्यहाँ त अस्पताल मात्र थियो । आमाले बिजुवाले सुई नलगाउन र अस्पताल नलैजान भनेको छ अस्पताल लान हुन्न भन्दै हुनुहुन्थ्यो । आफन्तले उसलाई अस्पताल लगे ।
उस्को सिटीस्क्यान एम् आर् आइ गरियो । रिपोट आयो उसको टाउकोमा बयस्क किरा छ । जसलाई डाक्टरी भाषामा टेपवर्म भनिन्छ । ऊ फेरि बेहोस भएर ढल्यो ।
Facebook Comments