ऊर्जा क्षेत्रमा संलग्नहरु देश विकासको मेरुदण्ड नै ऊर्जाको विकास हो भन्ने मान्यता राख्दछन् । यो एक हदमा सहि हो । तर सबै ऊर्जा क्षेत्रमा संलग्नहरुले यो विषयको चर्चा र ब्याख्या इमान्दार पूर्व गरेका छन् त ? शंकाकै विषय छ । यो क्षेत्रमा धेरै समस्याहरु आए । कतिपय समस्या समाधान गर्न छानविन समिति बनाइयो, प्रतिवेदनहरु आए तर कार्यान्वयनमा भएन । सम्बन्धित सरकारी निकायका जिम्मेवार ब्यक्तिहरु आफ्नो टाउको जोगाउन माथिल्लो निकायलाई देखाउँदै समस्यालाई पन्छाएर अघि बढे । यसको निरन्तरता अहिले पनि जारी छ ।
विभागीय प्रमुखहरुले एमडी देखाउने, एमडीले सचिव र सचिवले मन्त्री देखाउने मन्त्रीले क्याविनेट वा प्रधानमन्त्री यसरी नै दिन महिना र बर्ष विताउने र कार्यकाल सकाउदै आनन्द लिने चलन हावी हुँदै गएको छ । यसको अर्थ समस्या, दस्तावेज, प्रतिवेदका चाङमा धमिरा लाग्ने निश्चित छ । मर्कामा परेका व्यक्ति भने यो र त्यो कोठा गरिरहने क्रम पनि लामो समयदेखि चलिरहेको छ । अझै कति समय यसरी नै चल्ने हो, थाहा छैन ।
हाल बर्षा याममा सरदर ७५० मेगावाट विद्युत खेर गइरहेको छ । आन्तरिक खपतलाई प्राथमिकता दिने प्राधिकरणका एमडी वा सरकारी पदाधिकारीलाई तितो यर्थाथ जानकारी गराउँ । विद्युत खपत बढाउन विद्युतीय सामग्रीको अधिकतम प्रयोगका लागि चर्का नारा र योजना अगाडि सारियो । त्यसकै एउटा उदाहरणको रुपमा इन्डक्सन चुलो प्रयोगमा जोड र ग्याँसको विस्थापन थियो । नारा राम्रो हो तर खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले २०७७ सालमा इन्डक्सन चुलोको प्रयोगको फाइदा र बिक्रिको अभियान चलायो । परिणाममा पुरै वर्षभरिका जम्मा ३ वटा चुलो बेचेको रेकर्ड आयो । यसको कारण के हो भने ऐन कानुनले दिएको अधिकार प्रयोग गरेर इमान्दारपूर्वक काम नगर्ने र टाउको जोगाउने प्रवृति नै हो । मुख्य कुरो जनतालाई नियमित विद्युत पाउछु भन्ने विश्वास नभएर नै हो । कुलमान उज्यालो नेपालका नायक हुँदा वा पुनः आउँदा पनि झ्याप्पका झ्याप्प विद्युत जानु र दजनौ जिल्लाका गापामा हप्तौँसम्म अँन्धकारमा बस्नु पर्ने बाध्यता छ ।
यसको मुख्य कारण प्रचार र भाषणवाजी हावी हुनु, तर काम नहुनु हो । पहिलो कुरा त प्रशारण लाइन सवस्टेशन र वितरण प्रणालीमा समस्या छ । प्रशारण लाइन र सवस्टेशनहरु आवश्यक मात्रामा नबनाउनु तथा वितरण प्रणालीका संरचना र सामानको हेर विचार, मर्मत संहार र फेरवदल नियमित रुपमा नगर्नु नै हो ।
दोष अरुलाई लगाएर आफु सधैं ठूलो हुने व्यवस्थापन र त्यसका नेतृत्वलाई जनताले खराब नियत राखेको थाहा पाउने दिन पक्कै आउँछ । त्यो थाहा भएको दिन के हालत हुन्छ भन्ने कुराको हेक्का राखेर काम गरेको देखिदैन । ‘सस्तो भरपर्दो र सुरक्षित विजुली’ जनताको आशा र चाहना हो । विश्वास गर्न त सकिदैन तर आशाका किरणहरु समेत देखिएका छैनन् । यो बिडम्वनापूर्ण हो । दैनिक फाइलको धुलो झार्ने, झारा टार्ने र कहाँ र कुन कामबाट कति छ्याकन झर्छ वा झार्न सकिन्छ भन्ने मात्र सोच्ने हो भने त्यो कामका लागि त त्यो कुर्सीमा जो सुकैलाई राखेपनि फरक पर्दैन । यो प्रवृतिबाट अलि माथि उठौँ र जिम्मेवार बनौ ।