महालक्ष्मीको १६ दिने व्रत समापन

वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत मङ्गलबार राति चन्द्रमालाई अघ्र्यदान गरेसँगै समापन भएको छ । धनधान्यकी देवी महालक्ष्मीलाई प्रशन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि १६ दिन अर्थात् आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ ।

यस वर्ष भदौ २८ गते सोमबारदेखि सुरु भएको यो व्रत असोज १२ गते राति विधिपूर्वक समापन गरिएको हो । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ । प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिइन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ ।

यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको बास भई दुःख दारिद्रय नाश भई सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ । साक्षात् भगावन् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताउनुभएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने शास्त्रीय मान्यता छ । देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझसमेत तीनपटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रुसमेत नाश हुने उहाँले बताउनुभयो ।

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कात्तिक कृष्ण आमावास्या गरी तीनपटक विशेषरूपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गरिन्छ । यो व्रत विधि पहिलेजस्तो प्रचलनमा नरहेकाले यसको संरक्षण गरिनुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

Facebook Comments