सङ्घर्षशील सामाजिक पुरस्कार असफल गौतमलाई

अम्बिका–भागवत फाउन्डेशनद्वारा सञ्चालित सङ्घर्षशील सामाजिक पुरस्कार असफल गौतमलाई अर्पण गरिने भएको छ । समाजसेवी शिवनारायण बिजुक्छेको संयोजकत्वमा देवी श्रेष्ठ र गोविन्दप्रसाद दवाडी सदस्य, फाउन्डेशनका अध्यक्ष भागवत नेपाल र संरक्षक अम्बिका नेपाल पदेन सदस्य रहनुभएको समितिले असफललाई सर्वसम्मत छनोट गरेको हो । सभ्य समाज निर्माणमा सङ्घर्षरत प्रतिभालाई हरेक दुई–दुई वर्षमा अर्पण गरिने उक्त पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।

बीएड, एलएलबीका साथै राजनीतिशास्त्र र नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका असफल गौतम दर्जनौँ कृतिका सर्जक हुनुहुन्छ । झण्डै तीन दर्जनभन्दा बढी कृतिका सम्पादक चार शैक्षिक तथा सामाजिक कोषका संस्थापक रहनुभएका उहाँले यसअघि ४१ वटा सम्मान तथा पुरस्कारबाट विभूषित भइसक्नुभएको छ ।

सम्मानित व्यक्तित्व गौतम मानवअधिकार पत्रकार सङ्घ हुर्जा गण्डकी र स्वतन्त्र पत्रकार सङ्घ कास्कीको अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको महासचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको कोषाध्यक्ष, डागर स्मृति प्रतिष्ठानको सहसचिवलगायत विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा रहेर सङ्घर्षशील जीवन बिताइरहनुभएको छ ।

Facebook Comments