नेपाल विधुत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मातातिर्थमा कार्यरत कर्मचारी हुन् रत्न श्रेष्ठ । उनी कर्मचारीको अलवा नेविप्रा अन्तर संस्थानका खेलाडी पनि हुन् । नुवाकोट फुटवल संघको संस्थापक तथा कोलोनी युथ सर्कलको पूर्व उपाध्यक्ष रहेका श्रेष्ठ प्राधिकरणका कर्मचारी कल्याण परिषद्का कोषाध्यक्षसमेत रहेका छन् । परिषद्को २५ औँ वार्षिक उत्सवको सन्दर्भमा उनीसँग गरिएको संक्षिप्त कुराकानी । (सम्पादक)
जलस्रोत : परिषद्को २५ औँ वार्षिक उत्सव मनाइरहँदा कस्तो अनुभव भइरहेको छ ?
श्रेष्ठ : नेविप्रा कर्मचारी कल्याण परिषद्को कोषाध्यक्ष र यस ट्रेड युनियनको सिपाहीको हैसियतले भन्नुपर्दा भव्य र सभ्य तरिकाले कार्यक्रम सम्पन्न गर्ने कार्य सकिएको छ । हामी नेविप्रा सम्बद्ध कर्मचारी परिषद्प्रति सकारात्मक छौँ भन्ने सन्देश पाउँदा खुसी लागेको छ ।
जलस्रोत : भाद्र १ गते नेविप्राको ३७ औँ वार्षिक उत्सव सम्पन्न भयो, त्यसले जनस्तरमा कस्तो सन्देश प्रवाह गर्न सफल भयो त ?
श्रेष्ठ : निश्चय नै नेविप्राको ३७ औँ वार्षिक उत्सव एउटा उदाहरणीय र हर्षोउल्लासका साथ सम्पन्न भएको छ । यसमा अतिरिक्त क्रियाकलाप पनि भयो । मैले पनि नेपाल फुटवल संघको पूर्व रेफ्रि भएको हैसियतले अतिरिक्त क्रियाकलाप अन्तर्गतको म्याराथुन प्रतियोगिताको संयोजक हुने सौभाग्य पाए । जुन प्रतियोगिता पनि उल्लेख्य रह्यो । कार्यक्रमको उद्देश्य र लक्ष्य अनुरुपको विषयबस्तुको प्रस्तुती र खेलले थप रोचक थपेको कार्यक्रम एउटा अविस्मरणीय रह्यो भन्दा अतियुक्ति हुँदैन ।
जलस्रोत : प्राधिकरणमा ४ वटा ट्रेड युनियन छन्, राननीतिक धारपनि अलग हुने नै भए, आफ्नो युनियनसँग आस्था मिल्ने कर्मचारीको लागि मात्र यस्ता कार्यक्रम गर्ने हो कि साझा हुन्छ नि ?
श्रेष्ठ : यो साझा हुन्छ । यहाँ दलगत रुपमा कुनै विभेद हुँदैन । कर्मचारी कल्याण परिषद् नाम जस्तै सम्पूर्ण कर्मचारीको हितमा काम गर्छ । कुनैपनि दलमा आवद्ध वा संगठनमा आवद्ध भएको आधारमा विभेद गरिदैन । सबैको पीर मर्कालाई साझा एजेण्डाको रुपमा हेरिन्छ ।
जलस्रोत : ट्रेड युनियनले चुनाव गर्न सकेको छैन, चुनाव गर्न नसक्नुको कारण राजनीतिक हस्तक्षेप वा आन्तरिक कारण के हो ?
श्रेष्ठ : प्राधिकरणमा रहेका ४ वटा युनियनलेको निर्वाचनको आ–आफ्नै समयावधि छ । आधिकारीक ट्रेड युनियनको कुरा गर्ने हो भने २०७८ जेठमा नै अवधि सकिएको हो । सो समयमा कोभिडको समस्या भएको हुनाले रोकियो । फेरि स्थानीय तहको निर्वाचन भयो । यसले केही पर धकेलेको सत्य हो । हामी ट्रेड युनियनको चुनाव गराउनु पर्छ भन्ने पक्षमा छौँ । नेविप्राको सिफारिसमा श्रम कार्यालयले ट्रेड युनियनको चुनाव गराउने गर्छ । मलाई लाग्छ अव यो धेरै पर जाँदैन । प्रदेश र संघीय चुनाव सकिएपछि तुरुन्त हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।