काभ्रेपलाञ्चोकको विकट क्षेत्र मानिने महाभारत गाउँपालिकामा केन्द्रीय विद्युत्को प्रसारण लाइन परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरण ग्रिड सोलार एण्ड इनर्जी इफिसियन्सी आयोजनाबाट महाभारत गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका गोकुले, घर्तीछाप, फोक्सिनटार बनखु तथा बुढाखानी क्षेत्रमा विद्युत् प्रसारणको पूर्वतयारी पूरा भएसँगै परीक्षण थालिएको हो ।
पालिकामा बिजुलीको प्रसारण सुरु भएसँगै केन्द्रीय प्रसारण लाइन सबै वडामा पुगिसकेको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो । हालसम्म १, २ र ८ बाहेका सबै वडामा केन्द्रीय प्रसारण लाइनसँगै शाखा प्रसारण लाइनसमेत जडान भइसकेको उहाँले बताउनुभयो । बाँकी वडामा प्रसारणको पूर्वतयारी धमाधम भइरहेको बताउँदै जिम्बाले एक वर्षभित्र पालिकाका सबै वडामा बिजुली पुग्ने उल्लेख गर्नुभयो ।
विद्युत् प्रसारण आयोजना विद्युत् प्राधिकरण र विश्व बैंकको सहयोग र सहकार्यमा निर्माण भई जनतालाई विद्युत् प्रवाह गर्न लागेकोसमेत पालिका अध्यक्ष जिम्बाले बताउनुभयो । महाभारत केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै पालिकाका नागरिकको आजका दिनसम्म पनि परम्परागत उज्यालोका स्रोत टुकी दियालोलगायत सीमित मात्रामा सोलारको माध्यमबाट उज्यालो लिनुपर्ने बाध्यताबाट माथि उठेको जिम्बाको भनाइ छ ।
महाभारत गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेसँगै पालिकाका सबै घरधुरी (तीन हजार तीन सय) विद्युत्को पहुँचमा रहने पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले बताउनुभयो । भौगोलिक विकटता र असहजताका कारण निरन्तर अभाव झलिरहेकाको यस पालिमा स्थानीय सरकार निर्वाचित भएसँगै बिजुली, खानेपानीलगायत जनआकाङ्क्षाबमोजिमका विकास निर्माणका कार्य भइरहेकोसमेत विष्टले जानकारी दिनुभयो ।